जकरिया 7 - नेपाली नयाँ संशोधित संस्करणउपवास होइन, न्याय र कृपा 1 दारा राजाको चौथो वर्षमा किसलेव महिना अर्थात् नवौँ महिनाको चौथो दिनमा परमप्रभुको यो वचन जकरियाकहाँ आयो। 2 बेथेलका मानिसहरूले शरेसेर र रेगेम-मेलक र तिनीहरूका मानिसहरूलाई परमप्रभुकहाँ यसरी बिन्ती गर्न पठाएका थिए, 3 कि सर्वशक्तिमान् परमप्रभुको भवनका पूजाहारीहरू र अगमवक्ताहरूलाई यसो भनेर सोधून्, “के अघि धेरै वर्षदेखि गर्दैआएझैँ पाँचौँ महिनामा मैले विलाप गर्नु र उपवास बस्नुपर्छ?” 4 अनि सर्वशक्तिमान् परमप्रभुको वचन मकहाँ आयो: 5 “देशका सारा मानिसहरू र पूजाहारीहरूलाई यसो सोध्, ‘जब तिमीहरू यी सत्तरी वर्षसम्म पाँचौँ र सातौँ महिनामा उपवास बस्थ्यौ र विलाप गर्दथ्यौ, तब के त्यो उपवास मेरै निम्ति गर्दथ्यौ र? 6 अनि जब तिमीहरू खान्थ्यौ र पिउँथ्यौ, तब के तिमीहरू आफ्नै निम्ति भोजन गर्दैनथ्यौ र? 7 जब यरूशलेम र त्यसका चारैतिरका नगरहरूमा स्थिरता र फलिफाप थियो र नेगेव तथा पश्चिमको तराई स्थिर भएका थिए, तब के अघिका अगमवक्ताहरूद्वारा घोषणा भएको परमप्रभुको वचन यही होइन र’?” 8 अनि जकरियाकहाँ परमप्रभुको यो वचन फेरि आयो: 9 “सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘साँचो न्याय गर, एकले अर्कालाई दया देखाओ र टिठ्याओ। 10 विधवाहरू र टुहुरा-टुहुरी, विदेशी अथवा गरीबहरूमाथि अत्याचार नगर। आफ्नो हृदयमा एका-अर्काप्रति खराब नसोच’। 11 “तर तिनीहरूले त ध्यान दिएर सुन्नलाई इन्कार गरे, हठी भएर तिनीहरूले आफ्नो पीठ फर्काए र आफ्ना कान थुने। 12 सर्वशक्तिमान् परमप्रभुले आफ्ना आत्माद्वारा अघि-अघिका अगमवक्ताहरूद्वारा दिनुभएका व्यवस्था र वचन तिनीहरूले सुन्न मानेनन्, र आफ्ना हृदय चकमकको ढुङ्गाझैँ कड़ा बनाए। यसैकारण सर्वशक्तिमान् परमप्रभु साह्रै रिसाउनुभयो। 13 “‘जसरी मैले बोलाउँदा तिनीहरूले सुनेनन्, त्यसरी नै तिनीहरूले बोलाउँदा म तिनीहरूको बिन्ती सुन्दिनँ,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। 14 ‘तिनीहरूलाई विदेशी भएर बसेका जाति-जातिहरूका बीचमा आँधीबेहरीले झैँ मैले तितरबितर पारें। तिनीहरूको देश निर्जन भयो, यतिसम्म कि त्यसमा कोही पनि आउन वा जान सकेन। यसरी तिनीहरूले त्यो सुन्दर देश उजाड़ पारे’।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society