जकरिया 6 - नेपाली नयाँ संशोधित संस्करणचार रथहरू 1 फेरि मैले माथि हेरें, र मेरो अगि दुई पर्वतहरूका बीचबाट चार वटा रथहरू आएका देखें। ती पर्वतहरू काँसाका थिए। 2 पहिलो रथमा राता घोड़ाहरू, दोस्रो रथमा काला घोड़ाहरू, 3 तेस्रो रथमा सेता घोड़ाहरू र चौथो रथमा पाङ्ग्रे घोड़ाहरू थिए— ती सबै बलिया थिए। 4 मसित कुरा गर्ने ती स्वर्गदूतलाई मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्?” 5 ती स्वर्गदूतले जवाफ दिएर मलाई भने, “यी स्वर्गका चार आत्माहरू हुन्, जो सारा संसारका परमप्रभुको सामुन्ने खड़ा भएर निस्किआएका हुन्। 6 काला घोड़ाहरू भएको रथ उत्तर देशतिर जान्छ, सेता घोड़ाहरू भएको रथ पश्चिमतिर जान्छ, र पाङ्ग्रे घोड़ाहरू भएको रथ दक्षिणतिर जान्छ।” 7 जब ती बलिया घोड़ाहरू बाहिर निस्के, तिनीहरू चारैतिर जानलाई तम्सिरहेका थिए। तिनले भने, “पृथ्वीका चारैतिर जाओ।” तब तिनीहरू पृथ्वीका चारैतिर गए। 8 तब तिनले कराएर मलाई भने, “हेर, ती उत्तरको देशतिर लाग्नेहरूले मेरो आत्मालाई त्यहाँ आराम दिएका छन्।” यहोशूको मुकुट 9 परमप्रभुको यो वचन मकहाँ आयो: 10 “बेबिलोनको निर्वासनबाट आएका हेल्दै, तोबियाह र यदायाहबाट भेटी ली। त्यही दिन सपन्याहको छोरो योशियाहको घरमा जा। 11 सुन र चाँदी लिएर एउटा मुकुट बना, र त्यो यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशूको शिरमा लगाइदे। 12 त्यसलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, यो मानिस जसको नाउँ हाँगो हो, त्यो आफ्नो ठाउँमा बढ्नेछ, र परमप्रभुको मन्दिर बनाउनेछ। 13 त्यसले नै परमप्रभुको मन्दिर बनाउनेछ, र त्यो महामहिमाले पहिर्याइनेछ, र आफ्नो सिंहासनमा विराजमान भएर राज्य गर्नेछ, र त्यो सिंहासनमा एक जना पूजाहारी हुनेछ। अनि दुवैको बीचमा मिलाप हुनेछ’।” 14 हेल्दै, तोबियाह, यदायाह र सपन्याहको छोरो हेनलाई परमप्रभुको मन्दिरमा सम्झनाको निम्ति त्यो मुकुट दिइनेछ। 15 जो टाढ़ा-टाढ़ामा छन्, ती आएर परमप्रभुको मन्दिर बनाउन सघाउनेछन्, र सर्वशक्तिमान् परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्नेछौ। तिमीहरूले मन लगाएर परमप्रभु आफ्ना परमेश्वरको आज्ञा मान्यौ भनेदेखि सो हुनेछ।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society