जकरिया 3 - नेपाली नयाँ संशोधित संस्करणप्रधानपूजाहारीको निम्ति सफा लुगा 1 तब उहाँले प्रधान पूजाहारी यहोशूलाई परमप्रभुका दूतको सामुन्ने उभिरहेका र शैतान तिनको विरोध गर्नलाई तिनको दाहिने हाततिर उभिरहेको मलाई देखाउनुभयो। 2 परमप्रभुले शैतानलाई भन्नुभयो “ए शैतान, परमप्रभुले तँलाई हकारून्। यरूशलेमलाई चुन्नुहुने परमप्रभुले तँलाई हकारून्! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र?” 3 अब यहोशूचाहिँ स्वर्गदूतको अगि फोहोर लुगा लगाएर उभेका थिए। 4 तब ती स्वर्गदूतले आफ्नो सामुन्ने उभिरहनेहरूलाई भने, “त्यसको फोहोर लुगाहरू फुकालिदेओ।” तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रा पाप दूर गरिदिएँ, र म तिमीलाई दामी-दामी लुगा लगाइदिनेछु।” 5 तब मैले भनें, “तिनको शिरमा एउटा सफा फेटा लगाइदेऊ।” यसैले तिनीहरूले तिनलाई एउटा सफा फेटा र लुगा लगाइदिए, र परमप्रभुका स्वर्गदूत नजिक उभिरहेका थिए। 6 तब परमप्रभुका स्वर्गदूतले यहोशूलाई यो कड़ा आज्ञा दिए: 7 “सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘यदि तँ मेरो मार्गमा हिँड़िस् र तैंले मेरा आज्ञा पालन गरिस् भने, तँ मेरो घरको जिम्मेवार र मेरो मन्दिरको हेरचाह गर्ने हुनेछस्, र यी यहाँ उभिरहनेहरूका बीचमा म तँलाई एउटा स्थान दिनेछु। 8 “‘हे यहोशू प्रधान पूजाहारी र तेरो सामुन्ने बस्ने तेरा साथीहरू, जो पछि हुने कुराका चिन्हजस्ता छन्। यी कुरा सुन। हेर्, म मेरो दास, अर्थात् हाँगालाई ल्याउनेछु। 9 यहोशूको सामु राखिएको ढुङ्गालाई हेर्। त्यसमा सात वटा आँखा छन्, र म त्यसमा लेखोट खोप्नेछु, र एकै दिनमा यस देशको पाप हटाउनेछु,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। 10 “‘त्यस दिन तिमीहरू हरेकले आफ्नो छिमेकीलाई दाखको बोटमुनि र नेभाराको बोटमुनि बस्न निम्तो दिनेछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society