Online Bible

- Reklamy -

जकरिया 2 - नेपाली नयाँ संशोधित संस्करण


नाप्‍ने डोरी लिएको मानिस

1 तब मैले माथि हेरें, र मेरो अगि हातमा एउटा नाप्‍ने डोरी लिएका एक जना मानिस थिए।

2 मैले सोधें, “तपाईं कहाँ जाँदैहुनुहुन्‍छ?” तिनले मलाई जवाफ दिए, “यरूशलेम नाप्‍न, त्‍यसको चौड़ाइ र लमाइ कति रहेछ हेर्न जाँदैछु।”

3 तब मसित कुरा गरिरहने ती स्‍वर्गदूत गइहाले, र अर्का स्‍वर्गदूत तिनलाई भेट्‌नलाई आए,

4 र तिनलाई भने, “दगुरिगएर त्‍यस जवान मानिसलाई भन, ‘मानिसहरू र पशुहरू संख्‍यामा ज्‍यादै भएका हुनाले यरूशलेम विनापर्खालको सहर हुनेछ।

5 अनि म स्‍वयम्‌ त्‍यसको चारैतिर आगोको पर्खाल हुनेछु’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘र त्‍यसभित्रको महिमा म नै हुनेछु’।

6 “आओ, आओ, उत्तरको देशदेखि भागिआओ” परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासमा तितरबितर पारेको छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

7 “आओ, हे सियोन! उम्‍किआओ, तिमीहरू, जो बेबिलोनकी छोरीसित बस्‍दछौ।”

8 किनकि सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “त्‍यसले मेरो आदर गरेर तिमीहरूलाई लुट्‌ने जातिहरूका विरुद्धमा मलाई पठाएपछि— किनभने जसले तिमीहरूलाई छुन्‍छ त्‍यसले उहाँका आँखाको नानीलाई छुन्‍छ—

9 निश्‍चय नै म आफ्‍नो हात तिनीहरूका विरुद्धमा उठाउनेछु, अनि तिनीहरूकै दासहरूले तिनीहरूलाई लुट्‌नेछन्‌। तब तिमीहरूले जान्‍नेछौ कि मलाई सर्वशक्तिमान्‌ परमप्रभुले पठाउनुभएको हो।

10 “हे सियोनकी छोरी, जोडसित कराऊ र खुशी होऊ, किनकि म आउँदैछु र तिमीहरूका बीचमा वास गर्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

11 “त्‍यस दिन धेरै जातिहरू परमप्रभुमा मिल्‍न आउनेछन्, र मेरा प्रजा हुनेछन्‌। म तिमीहरूका बीचमा वास गर्नेछु र तिमीहरूले जान्‍नेछौ कि सर्वशक्तिमान्‌ परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ।

12 परमप्रभुले पवित्र देशमा यहूदालाई आफ्‍नै भाग गरी अधिकार गर्नुहुनेछ, र यरूशलेमलाई फेरि चुन्‍नुहुनेछ।

13 हे सारा मनुष्‍य-जाति हो, परमप्रभुको सामु चूपचाप रहो, किनभने उहाँ आफ्‍नो पवित्र वासस्‍थानबाट निस्‍किजानुभएको छ।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy