तीतस 2 - नेपाली नयाँ संशोधित संस्करणविभिन्न समुदायको निम्ति शिक्षा 1 तिमीले चाहिँ जे पक्का धार्मिक-सिद्धान्त सुहाँउदो छ त्यही सिकाऊ। 2 वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ। 3 यसरी नै वृद्ध स्त्रीहरू आचार-व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्यही सिकाऊन्। 4 तिनीहरूले तरुणीहरूलाई आ-आफ्ना पति र बालबच्चाहरूलाई प्रेम गर्न, 5 र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्ने, दयालु, आ-आफ्ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्वरका वचनको निन्दा हुन नपाओस्। 6 त्यहीबमोजिम जवान मानिसलाई पनि आत्मसंयमी हुनलाई अर्ती देऊ। 7 सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा ईमानदारी, गम्भीरता, 8 र कसैले निन्दा गर्न नपाउने ठीक बोली होस्, ताकि हाम्रा विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस्। 9 कमाराहरूलाई पनि आ-आफ्ना मालिकको वशमा रहिकन हरेक कुरामा आफ्ना मालिकहरूलाई सन्तुष्ट तुल्याउने आदेश देऊ, र तिनीहरू मुख लाग्ने नहोऊन्। 10 तिनीहरूले चोरी नगरून्, तर पूर्ण रूपमा विश्वासयोग्य होऊन्। यसरी हरेक कुरामा तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्वरका धार्मिक-सिद्धान्तको शोभा बढ़ाऊन्। 11 किनकि सबै मानिसहरूका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ, 12 जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्णाहरू त्याग्न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्छ। 13 र हाम्रो धन्यको आशा— हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं। 14 ख्रीष्टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्नुभयो। 15 यी कुराहरूको घोषणा गर, पूरा अधिकारसहित अर्ती-उपदेश देऊ र हप्काऊ। कसैले तिम्रो अवहेलना नगरोस्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society