Online Bible

- Reklamy -

श्रेष्‍ठगीत 8 - नेपाली नयाँ संशोधित संस्करण

1 यदि तपाईं मेरी आमाको स्‍तन चुसेर हुर्केका मेरो निम्‍ति दाजुजस्‍तै हुनुभए त, मैले तपाईंलाई बाहिर भेट्टाएमा म तपाईंलाई चुम्‍बन गर्नेथिएँ, र कसैले मलाई निन्‍दा गर्नेथिएन।

2 म तपाईंलाई लिएर मेरी आमाको घरमा लैजाने थिएँ— तिनले मलाई शिक्षा दिएकी हुन्‌। म तपाईंलाई मसलायुक्त दाखमद्य, र मेरा दारिमको ताजा रस पिउनलाई दिनेथिएँ।

3 उहाँको देब्रे हात मेरो शिरमुनि छ, र उहाँको दाहिने हातले मलाई अँगालो हालेको छ।

4 यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्छु: आफूले नचाहेसम्‍म प्रेमलाई नउठाओ वा नजगाओ।


मित्रहरू

5 आफ्‍ना प्रेमीसित अड़ेस लाग्‍दै उजाड़-स्‍थानतिरबाट आउने को छ? स्‍याउको रूखमुनि मैले तपाईंलाई उत्तेजित पारें, त्‍यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरिन्, त्‍यहीँ तपाईंलाई जन्‍म दिन तिनलाई सुत्‍केरी बेथा लागेको थियो।


प्रेमिका

6 मलाई तपाईंको हृदयमा एउटा छापजस्‍तै लगाउनुहोस्, तपाईंको पाखुरामा एउटा छापजस्‍तै, किनभने प्रेमचाहिँ मृत्‍युजस्‍तै प्रबल हुन्‍छ, यसको तृष्‍णा चिहानजस्‍तै हठी। त्‍यो कुनै पनि ज्‍वालाभन्‍दा पनि कड़ा दन्‍केको आगोझैँ दन्‍किन्‍छ।

7 थुप्रै पानीका भलले पनि प्रेमलाई मेट्‌न सक्‍दैन, खोलाहरूले यसलाई कदापि बगाउन सक्‍दैनन्‌। कुनै मानिसले प्रेमको सट्टामा आफ्‍नो घरको सारा सम्‍पत्ति नै दिए तापनि त्‍यो त बिल्‍कुलै तिरस्‍कार गरिनेथियो।


मित्रहरू

8 हाम्री एउटी सानी बहिनी छिन्, तिनका स्‍तन सानै छन्‌। तिनलाई विवाह गर्न कोही माग्‍न आए त्‍यस दिन हामी के गरौं?

9 यदि तिनी पर्खाल भए त, हामीले तिनीमाथि चाँदीका धरहरा खड़ा गर्नेथियौं। यदि तिनी ढोका भए त, हामी देवदारुका फल्‍याकले बारेर बन्‍द गर्ने थियौं।


प्रेमिका

10 म एक पर्खाल हुँ, र मेरा स्‍तन धरहराजस्‍तै छन्‌। त्‍यसैले म उहाँको नजरमा सन्‍तुष्‍टि दिने भएकी छु।

11 बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो, उहाँले आफ्‍नो बारी अधियाँ लाउनुभयो, र अधियाँ लिएका हरेकले फलफूलको सट्टा एक हजार चाँदीका सिक्‍का बुझाउनुपर्थ्‍यो।

12 तर मेरो आफ्‍नै दाखबारी दिने अधिकार त मेरै हो, हे सोलोमन, ती हजार सिक्‍का तपाईंकै निम्‍ति हुन्, र दुई सय ती फलफूल हुर्काउनेहरूका निम्‍ति हुन्‌।


प्रेमी

13 आफ्‍ना मित्रहरूको उपस्‍थितिमा तिमी बगैँचाहरूमा बस्‍ने, तिम्रो सोर म सुन्‍न पाऊँ!


प्रेमिका

14 बाहिर निस्‍केर आउनुहोस्, हे मेरा प्रेमी, र सुगन्‍धित मसलाले भरिएका पर्वतहरूमा हुने हरिण अथवा जवान मृगजस्‍तै हुनुहोस्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy