Online Bible

- Reklamy -

श्रेष्‍ठगीत 7 - नेपाली नयाँ संशोधित संस्करण

1 हे राजकुमारकी छोरी, जुत्ता लाएका तिम्रा खुट्टा कति राम्रा छन्‌। एउटा निपुण कारीगरले रचेका जस्‍तै तिम्रा हिसी परेका खुट्टा रत्‍नझैँ छन्‌।

2 तिम्रो नाभि गोलो बटुकोजस्‍तै छ, जसमा मिसाएका दाखमद्यको अभाव कहिल्‍यै हुँदैन। तिम्रो पेट लिली फूलहरूले घेरिएको गहूँको राशिजस्‍तै छ।

3 तिम्रा स्‍तनहरू दुई पाठाहरूजस्‍तै छन्, हरिणका दुई जुम्‍ल्‍याहा पाठाहरूझैँ।

4 तिम्रो घाँटी हस्‍ती-हाड़को धरहराजस्‍तै छ, तिम्रा आँखा बाथ-रब्‍बीमका ढोकाको छेउमा रहेका हेश्‍बोनका पोखरीहरूजस्‍ता छन्‌। तिम्रो नाक दमस्‍कसतिर फर्केको लेबनानको धरहराजस्‍तै छ।

5 तिम्रो शिरले कर्मेल डाँड़ाजस्‍तै तिमीलाई मुकुट लगाइदिएको छ। तिम्रो शिरको केश राजकीय पर्दाझैँ छ। केश राशिले राजा मोहित छन्‌।

6 तिमी कति सुन्‍दरी र मनोहर छ्यौ, हे प्रिय, तिम्रो आनन्‍दमा!

7 तिम्रो शरीरको कद खजूरको रूखजस्‍तै, र तिम्रा स्‍तनहरू फलका झुप्‍पाझैँ छन्‌।

8 मैले भनें, “म खजूरको रूखमा चढ्‌नेछु, र यसका फल समात्‍नेछु।” तिम्रा स्‍तनहरू दाखका झुप्‍पाहरूजस्‍तै, तिम्रो सासको बास्‍ना स्‍याउको सुगन्‍धझैँ,

9 र तिम्रो मुख उत्तम दाखमद्यजस्‍तै होऊन्‌। ओठ र दाँतबाट भएर बिस्‍तारै बग्‍दै दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्‌।


प्रेमिका

10 म मेरा प्रेमीकी हुँ, र उहाँको तृष्‍णा मेरै निम्‍ति छ।

11 आउनुहोस्, मेरा प्रेमी, खेतबारी हुँदो डुल्‍न जाऔं, र राती गाउँतिर वास बसौं।

12 हामी बिहानै दाखबारीमा जाऔं, दाखमा कोपिला लागेर फक्रेका छन्‌ कि, र दारिमहरूका फूल लागेछन्‌ कि हेरौं— त्‍यहाँ म तपाईंलाई मेरो प्रेम दिनेछु।

13 दूधे-फूलहरूले आफ्‍नो बास्‍ना फैलाइरहेका छन्, सबै किसिमका स्‍वादिला फलहरू हाम्रै ढोकामा छन्, नयाँ र पुराना फलहरू, जो मैले तपाईंको निम्‍ति साँचिराखेकी छु, हे मेरा प्रेमी।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy