Online Bible

- Reklamy -

श्रेष्‍ठगीत 6 - नेपाली नयाँ संशोधित संस्करण


मित्रहरू

1 हे स्‍त्रीहरूमध्‍ये अति सुन्‍दरी, तिम्रा प्रेमी कहाँ गए? उनी बाटोको कुन मोड़तिर लागे, र हामी तिमीसित उनलाई खोजौं?


प्रेमिका

2 मेरा प्रेमी आफ्‍नै बगैँचातिर सुगन्‍धित मसलाका ड्याङमा झर्नुभएको छ, आफ्‍नो मन भुलाउन र लिली फूलहरू बटुल्‍न जानुभएको छ।

3 म मेरा प्रेमीको आफ्‍नै हुँ, र मेरा प्रेमी मेरै हुनुहुन्‍छ। उहाँ लिली फूलहरूका बीचमा मन भुलाउँदैहुनुहुन्‍छ।


प्रेमी

4 हे मेरी प्‍यारी, तिमी तिर्साजस्‍तै सुन्‍दरी र यरूशलेमझैँ राम्री छ्यौ, तिमी झन्‍डा फहराउँदै गरेका सेनाजस्‍तै प्रतापी छ्यौ।

5 तिम्रा आँखा मबाट तर्काऊ, तिनले मलाई व्‍याकुल पार्छन्‌। तिम्रा केश गिलाद डाँड़ाबाट ओर्लंदै गरेका बाख्राहरूजस्‍तै छन्‌।

6 तिम्रा दाँत भरखरै नुहाएर आएका भेड़ाहरूको बगालजस्‍तै छन्‌। प्रत्‍येकको जुम्‍ल्‍याहा छ, कुनै पनि एकलो छैन।

7 घुम्‍टोभित्र तिम्रा गालाहरू दुई फ्‍याक परेका दारिमजस्‍तै छन्‌।

8 चाहे साठी वटा रानी होऊन्, चाहे असी वटा भित्रिनीहरू, चाहे अनगन्‍ती कन्‍ये-केटीहरू होऊन्,

9 तर मेरी बिलकुलै ठीक ढुकुर, तिनी विशेष छिन्, तिनकी आमाकी एउटै र मन परेकी छोरी। कन्‍याहरूले तिनलाई देखे र भाग्‍यमानी भने, रानीहरू र भित्रिनीहरूले तिनको प्रशंसा गरे।


मित्रहरू

10 प्रभातझैँ उदय भएकी, चन्‍द्रमाझैँ सुन्‍दरी, सूर्यझैँ चहकिलो, ताराहरूले भरिएको आकाशझैँ प्रतापी यिनी को हुन्‌?


प्रेमी

11 बदामका रूख भएका बगैँचातिर म त्‍यहाँका उब्‍जनी हेर्न गएँ, बोटहरूमा कोपिला लागेछन्‌ कि, अथवा अनारमा फूल फुलेका छन्‌ भनी म हेर्न गएँ।

12 मैले थाहा पाउन अघि नै मेरो चाहनाले मलाई मेरा मानिसहरूका राजकीय रथहरूतिर लगे।


मित्रहरू

13 हे शूलम्‍मी, फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ र हामी तिमीलाई एक टक लाएर हेर्न सकौं। महानोमको नाचमा झैँ शूलम्‍मीलाई तिमीहरू किन एक टक लाएर हेर्न चाहन्‍छौ?

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy