Online Bible

- Reklamy -

रूथको पुस्तक 3 - नेपाली नयाँ संशोधित संस्करण


बोअजको अनुरोध

1 एक दिन रूथकी सासू नाओमीले तिनलाई भनिन्, “हे मेरी छोरी, तिम्रो आफ्‍नै घरबार र राम्रो बन्‍दोबस्‍त भएर बसेको मैले हेर्न नपाउनू?

2 बोअज त हाम्रा आफ्‍नै नातेदार हुन्, जसका ठिटीहरूसँग तिमी थियौ। आज राती तिनले आफ्‍नो खलामा जौ बत्ताउनेछन्‌।

3 यसकारण स्‍नान गरेर तेल हाल र तिम्रा सबभन्‍दा राम्रा लुगा लगाई खलामा जाऊ, तर तिनले खानपान गरी नसकुञ्‍जेल तिमी ती मानिसकहाँ देखा नपर।

4 तिनी सुत्‍न जाँदा तिमीले तिनको सुत्‍ने ठाउँ हेरिराख। त्‍यसपछि गएर तिनको खुट्टापट्टिको ओढ्‌ने उठाएर त्‍यहीँ ढल्‍क। तब तिमीले के गर्नुपर्नेछ सो तिनले नै भन्‍नेछन्‌।”

5 रूथले भनिन्, “तपाईं जे भन्‍नुहुन्‍छ म गर्नेछु।”

6 तब तिनी तल खलामा गइन्, र तिनकी सासूले भनेझैँ गरिन्‌।

7 जब बोअजले खानपान गरिसके तब तिनको मन खुशी भयो, र अन्‍न थुपारेको एकातिर सुत्‍नलाई गए। तब रूथ चूपचापसित आइन्, र बोअजको खुट्टामा भएको ओढ्‌ने उठाएर ढल्‍किन्‌।

8 आधारातमा केही कुराले ती मानिसको निद्रा भङ्ग भयो, र एउटी स्‍त्रीलाई आफ्‍ना खुट्टामा ढल्‍किरहेकी तिनले देखे।

9 तिनले सोधे, “तिमी को हौ?” रूथले भनिन्, “म तपाईंकी दासी रूथ हुँ। अब तपाईंको लुगा आफ्‍नी दासीलाई ओढ़ाइदिनुहोस्, किनभने तपाईं मेरा नजिकका छुटकारा दिने नातेदार हुनुहुन्‍छ।”

10 तिनले भने, “हे मेरी छोरी, परमप्रभुले तिमीलाई आशिष्‌ देऊन्। तिमीले देखाएको यो आखिरी भक्ति पहिलाको भन्‍दा प्रगाढ़ छ। धनी कि गरीब कुनै जवान मानिसको पछि तिमी लागिनौ।

11 अनि अब हे मेरी छोरी, ढुक्‍क भएर बस। तिमी जे चाहन्‍छ्यौ म गर्नेछु, किनभने तिमी चरित्रवान्‌ छौ भन्‍ने कुरा यस नगरका सबै मानिसलाई थाहा भइसकेको छ।

12 म तिम्रो नजिकको नातेदार हुँ, सत्‍य हो; तापनि मभन्‍दा पनि अझै नजिकको एक जना मोल तिरेर छुटकारा दिने नातेदार छन्‌।

13 आजको रात यहीँ बिताऊ, र भोलि बिहान यदि तिनले तिम्रो नजिकको नातेदारले गर्नुपर्ने कर्तव्‍य गर्छन्‌ भने ठीकै छ, तर तिनी राजी भएनन्‌ भने म गर्नेछु। परमप्रभुको शपथ खाएर म यो भन्‍दछु। अब बिहानसम्‍म ढल्‍किरह।”

14 तब रूथ तिनका खुट्टानेर बिहान नहोउञ्‍जेल ढल्‍किरहिन्, तर मानिस ठम्‍याउन नसक्‍ने उज्‍यालोमा नै तिनी उठिन्‌। अनि बोअजले भने, “खलामा एउटी स्‍त्री थिइन्‌ भनी कसैले थाहा नपाओस्‌ है।”

15 तब बोअजले भने, “तिमीले ओढ़ेको खास्‍टो थाप।” तिनले थापिन्, र बोअजले छ पाथी जति जौ भरेर तिनलाई बोकाइदिए। अनि तिनी सहरमा फर्के।

16 रूथ आफ्‍नी सासूकहाँ आइन्, र नाओमीले सोधिन्, “हे मेरी छोरी, के भयो?”

17 तब ती मानिसले तिनीप्रति गरेका सबै कुरा रूथले बताइदिइन्‌। तिनले भनिन्, “उहाँले मलाई यो छ पाथी जौ दिनुभयो। उहाँले मलाई मेरी सासूकहाँ रित्तो हात जान दिनुभएन।”

18 नाओमीले भनिन्, “हे छोरी, यसको नतीजा के हुँदोरहेछ सो थाहा नपाउञ्‍जेल शान्‍त बस। आजै यस कुराको फैसला नगरुञ्‍जेल तिनलाई चैन हुनेछैन।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy