रोमी 5 - नेपाली नयाँ संशोधित संस्करणशान्ति र आनन्द 1 यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। 2 उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं। 3 यति मात्र होइन, तर हामी आफ्नो सङ्कष्टमा रमाउँछौं, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ, 4 सहनशीलताले चरित्र, र चरित्रले आशा उत्पन्न गराउँछ। 5 आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। 6 किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो। 7 धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला। 8 तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। 9 यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन् बढ़ी हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं। 10 किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने, झन् बढ़ी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्टको जीवनद्वारा हामी बचाइनेछौं। 11 यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा हामी रमाउँदै पनि छौं, उहाँद्वारा अब हामीलाई परमेश्वरसँग मिलाप प्राप्त भएको छ। आदमद्वारा मृत्यु, ख्रीष्टद्वारा जीवन 12 एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। 13 व्यवस्था दिइन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन। 14 आदमदेखि लिएर मोशासम्मका मानिसहरूमाथि मृत्युले राज्य गर्यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्तो अपराध गरेका थिएनन्। ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए। 15 सित्तैँको वरदान र त्यस अपराधमा केही समानता छैन। किनकि एक जना मानिसको अपराधले गर्दा धेरै मरे भनेता झन् बढ़ी परमेश्वरको अनुग्रह र एक जना मानिसको, अर्थात् येशू ख्रीष्टद्वारा आएको सित्तैँको वरदान धेरैका निम्ति प्रशस्त भयो। 16 सित्तैँको वरदानचाहिँ त्यस एक जना मानिसको पापको नतीजाजस्तै होइन। किनकि एउटा अपराधको इन्साफले दण्डको आज्ञा ल्यायो, तर धेरै अपराधका पछि आउने सित्तैँको वरदानले निर्दोषीकरण ल्याउँछ। 17 यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भनेता झन् बढ़ी प्रशस्त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्। 18 यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ। 19 किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्। 20 व्यवस्था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ़्यो अनुग्रह झन् बढ़ी मात्रामा बढ़्यो, 21 यस हेतुले कि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसै गरी येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्त जीवनसम्म राज्य गरोस्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society