Online Bible

- Reklamy -

रोमी 13 - नेपाली नयाँ संशोधित संस्करण


प्रशासकहरूका अधीन

1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।

2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌।

3 किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ।

4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।

5 यसकारण परमेश्‍वरको दण्‍डबाट बच्‍नलाई मात्र होइन, तर विवेकको निम्‍ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।

6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।

7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।


प्रेममा लागिरहो

8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्‍नो छिमेकीलाई प्रेम गर्नेले व्‍यवस्‍था पूरा गरेको हुन्‍छ।

9 “तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”

10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्‍यवस्‍था पूरा गर्नु हो।

11 यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ।

12 रात बितिसक्‍यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्‍धकारका काम छोड़ेर हामी ज्‍योतिका हातहतियार धारण गरौं।

13 दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।

14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र पापमय स्‍वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्‍यान नदेओ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy