Online Bible

- Reklamy -

प्रकाश 9 - नेपाली नयाँ संशोधित संस्करण


शक्तिशाली सलहहरू

1 अनि पाँचौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र मैले एउटा तारा देखें, जो स्‍वर्गबाट पृथ्‍वीमा खसेको थियो। त्‍यस तारालाई अतल कुण्‍डको साँचो दिइयो।

2 त्‍यसले अतल कुण्‍ड खोल्‍यो, र त्‍यस कुण्‍डबाट आगोको ठूलो भट्टीबाट निस्‍केको धूवाँजस्‍तो आयो, र कुण्‍डको धूवाँले सूर्य र वायुमण्‍डल अँध्‍यारो पार्‍यो।

3 त्‍यस धूवाँबाट पृथ्‍वीमा सलहहरू निस्‍के, र पृथ्‍वीका बिच्‍छीहरूको जस्‍तो शक्ति तिनीहरूलाई दिइयो।

4 तिनीहरूलाई आदेश दिइयो, कि पृथ्‍वीका घाँस वा कुनै बोट-बिरुवालाई हानि नगर्नू, तर मानव-जातिका तिनीहरूलाई मात्र हानि गर्नू जसको निधारमा परमेश्‍वरको मोहोर छैन।

5 तिनीहरूलाई मारी त नहाल्‍नू, तर पाँच महिनासम्‍म यातना दिनू भन्‍ने तिनीहरूलाई अख्‍तियार दिइयो, र मानिसलाई बिच्‍छीले डस्‍दा जस्‍तो पीडा हुन्‍छ, तिनीहरूले दिएको पीडा पनि त्‍यस्‍तै थियो।

6 ती दिनमा मानिसहरूले मृत्‍यु खोज्‍नेछन्, तर पाउनेछैनन्‌। तिनीहरूले मर्न इच्‍छा गर्नेछन्, तर मृत्‍यु तिनीहरूबाट भाग्‍नेछ।

7 ती सलहहरूको रूप लड़ाइँको निम्‍ति तयार गरिराखेका घोडाहरूको जस्‍तो थियो। तिनीहरूका शिरमा सुनका मुकुटजस्‍ता केही थिए, र तिनीहरूका अनुहारचाहिँ मानिसका अनुहारजस्‍तै थिए।

8 तिनीहरूका केश स्‍त्रीका केशजस्‍तै थिए, र तिनीहरूका दाँत सिंहका दाँतजस्‍ता थिए।

9 अनि तिनीहरूका छातीका कवच फलामका थिए, र तिनीहरूका पखेटाको आवाज लड़ाइँमा दगुर्ने धेरै रथ र घोडाहरूको आवाजजस्‍तै थियो।

10 तिनीहरूका पुच्‍छर र खील बिच्‍छीका जस्‍तै थिए। तिनीहरूका पुच्‍छरमा पाँच महिनासम्‍म मानिसलाई कष्‍ट दिने शक्ति थियो।

11 अतल कुण्‍डको दूत तिनीहरूको राजा थियो। हिब्रू भाषामा त्‍यसको नाउँ एबाड्डोन र ग्रीक भाषामा त्‍यसको नाउँ अपोल्‍लियोन हो।

12 पहिलो विपत्ति गइहाल्‍यो। यसपछि फेरि दुई विपत्ति आउन बाँकी छन्‌।

13 अनि छैटौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र मैले परमेश्‍वरको अगाडि रहेका सुनका वेदीका चार सीङबाट निस्‍केको एउटा आवाज सुनें।

14 तुरही लिने छैटौँ स्‍वर्गदूतलाई यसो भनेको मैले सुनें, “ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका ती चार दूतलाई छोडिदेऊ।”

15 अनि ती चार दूतहरू छोडिए, जुनहरू मानिसजातिको एक तिहाइ मार्नलाई त्‍यस घड़ी, त्‍यस दिन, त्‍यस महिना र त्‍यस वर्षको निम्‍ति तयार पारिराखिएका थिए।

16 ती घोड़सवार फौजको संख्‍या बीस करोड थियो।

17 मेरो दर्शनमा देखिएका घोडा र घोड़सवारहरू यस्‍ता थिए: तिनीहरूका छातीका कवचहरू आगोको, नीलमणि र गन्‍धकको रङ्गका थिए। ती घोडाहरूका शिर सिंहहरूका शिरजस्‍ता थिए। तिनीहरूका मुखबाट आगो, धूवाँ र गन्‍धक निस्‍कन्‍थे।

18 तिनीहरूका मुखबाट निस्‍केका आगो, धूवाँ र गन्‍धकका तीन विपत्तिद्वारा मानिस-जातिको एक तिहाइ मारियो।

19 किनकि ती घोडाहरूको शक्ति तिनीहरूका मुख र पुच्‍छरमा थियो, किनभने तिनीहरूका पुच्‍छर सर्पजस्‍ता थिए, जसका टाउका थिए। तीद्वारा तिनीहरूले मानिसलाई चोट पार्थे।

20 यी विपत्तिद्वारा नमारिएका बाँकी मानिसहरूले आफ्‍ना हातका कामबाट अझ पनि पश्‍चात्ताप गरेनन्‌। तिनीहरूले भूतहरूलाई र देख्‍न नसक्‍ने, सुन्‍न नसक्‍ने र हिँड्‌न नसक्‍ने सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरूलाई पुज्‍न छोड़ेनन्‌।

21 तिनीहरूले आफूले गरेको हत्‍या, जादूगरी, व्‍यभिचार र चोरीको पश्‍चात्ताप गरेनन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy