प्रकाश 8 - नेपाली नयाँ संशोधित संस्करणसातौँ मोहोर र सुनको धुपौरो 1 जब थुमाले सातौँ मोहोर तोड्नुभयो, तब प्राय: आधा घण्टासम्म स्वर्गमा सन्नाटा छायो। 2 परमेश्वरको सामुन्ने उभिने सात स्वर्गदूतहरूलाई मैले देखें। तिनीहरूलाई सात वटा तुरही दिइयो। 3 अनि अर्को एउटा स्वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्ने रहेका सुनको वेदीमाथि सबै सन्तहरूका प्रार्थनासँग चढ़ाउनका निम्ति तिनलाई धेरै धूप दिइयो। 4 धूपको धूवाँ सन्तहरूका प्रार्थनाका साथ स्वर्गदूतको हातबाट परमेश्वरको सामुन्ने मास्तिर गयो। 5 तब स्वर्गदूतले धुपौरो लिएर वेदीको आगो त्यसमा भरिदिए, र पृथ्वीमा फ्याँकिदिए। अनि मेघ गर्जनहरू, आवाजहरू, बिजुलीको चमकहरू उत्पन्न भए र भूकम्प गयो। तुरहीहरू 6 ती सात वटा तुरही हुने सातै स्वर्गदूत तुरही फुक्न तयारी भए। 7 पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके, र रगतसँग मिसिएको असिना र आगो आइहाल्यो, र ती पृथ्वीमा बर्सिन लाग्यो। अनि पृथ्वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू डढ़िहाले। 8 दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, र आगोले जलिरहेको एउटा ठूलो पहाड़जस्तो समुद्रमा फालियो, 9 र समुद्रको एक तिहाइ भाग रगत बन्यो। अनि समुद्रमा भएका जीवित प्राणीको एक तिहाइ भाग मरे, र जहाजहरूको एक तिहाइ भाग नष्ट भए। 10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, र आकाशबाट बल्दो राँकोझैँ एउटा ठूलो तारा खस्यो, र खोलाहरूको एक तिहाइ भाग र पानीहरूका मुहानहरूमा त्यो खस्यो। 11 त्यस ताराको नाउँ “ऐरेलु” हो, र त्यसले गर्दा पानीको एक तिहाइ भाग तीतो भयो, र पानी तीतो भएको हुनाले धेरै मानिसहरू मरे। 12 चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, र सूर्यको एक तिहाइ भागमाथि प्रहार गरियो, र चन्द्रमाको एक तिहाइ भागमाथि र ताराहरूको एक तिहाइ भागमाथि पनि प्रहार भयो, र तिनीहरूका प्रकाशको एक तिहाइ भागलाई अन्धकारले छोप्यो। तब दिनको एक तिहाइ ज्योतिविहीन भयो, त्यसरी नै रातको एक तिहाइ पनि। 13 मैले हेरें, र मध्य आकाशमा उड़िरहेको एउटा गरुड यसो भन्दै चर्को सोरले कराएको सुनें, “फुक्न बाँकी रहेका तीन स्वर्गदूतका अरू तुरहीका आवाजको कारणले पृथ्वीमा वास गर्नेहरूलाई धिक्कार! धिक्कार! धिक्कार!” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society