Online Bible

- Reklamy -

प्रकाश 7 - नेपाली नयाँ संशोधित संस्करण


एक लाख चवालीस हजारमाथि मोहोर

1 यसपछि पृथ्‍वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस्‌ भनी चार स्‍वर्गदूतहरू पृथ्‍वीका चारै बतासलाई रोकेर पृथ्‍वीका चार कुनामा उभिरहेका मैले देखें।

2 तब जीवित परमेश्‍वरको मोहोर साथमा लिई अर्को एक जना स्‍वर्गदूत पूर्वबाट उक्‍लेका मैले देखें। पृथ्‍वी र समुद्रलाई हानि पुर्‍याउने अख्‍तियार दिइराखेका चार स्‍वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने,

3 “हामीले हाम्रा परमेश्‍वरका दासहरूका निधारमा मोहोर नलाउञ्‍जेल पृथ्‍वी, समुद्र वा रूखहरूलाई केही हानि नगर।”

4 तब मैले मोहोर लगाइएकाहरूको संख्‍या सुनें। तिनीहरू एक लाख चवालीस हजार थिए, र तिनीहरू इस्राएलका सन्‍तानको प्रत्‍येक कुलबाट थिए।

5 यहूदाको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो, रूबेनको कुलबाट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई,

6 आशेरको कुलबाट बाह्र हजारलाई, नप्‍तालीको कुलबाट बाह्र हजारलाई, मनश्‍शेको कुलबाट बाह्र हजारलाई,

7 शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्‍साखारको कुलबाट बाह्र हजारलाई,

8 जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई, बेन्‍यामीनको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो।


सेतो वस्‍त्र लाएको ठूलो भीड

9 यसपछि कुनै मानिसले गन्‍न नसक्‍ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्‍नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्‍ने उभिरहेको मैले देखें।

10 तिनीहरू उच्‍च सोरले कराए: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।”

11 अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्‍वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्‍ने घोप्‍टो परी यसो भन्‍दै परमेश्‍वरलाई दण्‍डवत्‌ गरे।

12 “आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्‍यवाद, सम्‍मान, शक्ति र सामर्थ्‍य सदासर्वदा होस्‌। आमेन!”

13 धर्म-गुरुहरूमध्‍ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्‌?”

14 अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्‍नुहुन्‍छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्‍टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्‍ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।

15 यसैकारण, “तिनीहरू परमेश्‍वरका सिंहासनको सामुन्‍ने छन्, र दिनरात उहाँको मन्‍दिरमा उहाँको सेवा गर्दछन्, र सिंहासनमा विराजमान हुनुहुनेले आफ्‍नै उपस्‍थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।

16 तिनीहरू कहिल्‍यै भोकाउने र तिर्खाउनेछैनन्, सूर्यको राप अथवा कुनै प्रचण्‍ड ताप तिनीहरूमाथि पर्नेछैन,

17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोर्‍याएर जिउँदो पानीको स्रोतसम्‍म लानुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy