Online Bible

- Reklamy -

प्रकाश 6 - नेपाली नयाँ संशोधित संस्करण


मोहोरहरूको रहस्य

1 जब थुमाले ती सातमध्‍ये एउटा मोहोर तोड्‌नुभएको मैले देखें, तब चार जीवित प्राणीहरूमध्‍ये एक जनाले मेघ गर्जन जस्‍तो आवाजले यसो भनेको मैले सुनें, “आऊ!”

2 अनि मैले एउटा सेतो घोडा देखें, त्‍यसमाथि सवार हुनेसित एउटा धनु थियो, र त्‍यसलाई एउटा मुकुट दिइयो, अनि त्‍यो विजयी भएर विजय गर्न निस्‍क्‍यो।

3 जब उहाँले दोस्रो मोहोर तोड्‌नुभयो, तब दोस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें।

4 अर्को एउटा उज्‍ज्‍वल रातो घोडा बाहिर निस्‍किआयो। मानिसहरूले एक-अर्काको हत्‍या गरून्‌ भनी यस घोड़सवारलाई पृथ्‍वीबाट शान्‍ति हरण गर्ने अख्‍तियार दिइयो। त्‍यसलाई एउटा ठूलो तरवार दिइयो।

5 जब उहाँले तेस्रो मोहोर तोड्‌नुभयो, तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें। मैले एउटा कालो घोडा देखें। घोड़सवारको हातमा एउटा तराजू थियो।

6 ती चार जीवित प्राणीका बीचमा एउटा आवाजले यसो भनेजस्‍तो मैले सुनें, “एक दिनको ज्‍यालामा एक किलो गहूँ, र एक दिनको ज्‍यालामा तीन किलो जौ, तर तेल र दाखमद्यलाई हानि नगर्नू।”

7 जब उहाँले चौथो मोहोर तोड्‌नुभयो, तब चौथो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें।

8 मैले पहेँलो घोडा देखें, र घोड़सवारको नाउँचाहिँ “मृत्‍यु” थियो, र “पाताल” चाहिँ त्‍यसको पछिपछि लागेको थियो। अनि पृथ्‍वीको चौथाइ भागलाई तरवार, अनिकाल, महामारी र पृथ्‍वीका जङ्गली जनावरहरूद्वारा मार्ने अख्‍तियार तिनीहरूलाई दिइएको थियो।

9 जब उहाँले पाँचौँ मोहोर तोड्‌नुभयो, तब वेदीमुन्‍तिर मैले तिनीहरूका आत्‍माहरू देखें, जो परमेश्‍वरका वचनको निम्‍ति र तिनीहरूले दिएका गवाहीको कारण मारिएका थिए।

10 अनि तिनीहरूले यसो भनेर चर्को सोरले कराए, “हे सर्वशक्तिमान्‌ पवित्र र सत्‍य प्रभु, अझै कहिलेसम्‍म तपाईंले पृथ्‍वीमा रहनेहरूको इन्‍साफ गर्नुहुन्‍न र हाम्रो रगतको बदला लिनुहुन्‍न?”

11 तिनीहरू प्रत्‍येकलाई एउटा सेतो पोशाक दिइयो, र तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूजस्‍तै मारिएर संख्‍यामा पूरा नभएसम्‍म केही बेर विश्राम गर्नू भनी तिनीहरूलाई भनियो।

12 जब उहाँले छैटौँ मोहोर तोड्‌नुभयो, तब मैले ठूलो भूकम्‍प गएको देखें। सूर्य भाङ्‌ग्राजस्‍तो कालो भयो, र पूर्णिमाको चन्‍द्रमा रगतजस्‍तै रातो भयो।

13 अनि अञ्‍जीरको रूखलाई बतासले हल्‍लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्‍वीमा खसे।

14 आकाशचाहिँ चर्मपत्रको मुट्ठो बेह्रिएझैँ लोप भयो, र हरेक टापू र पहाड तिनीहरूका आ-आफ्‍ना ठाउँबाट हटेर गए।

15 तब पृथ्‍वीका राजाहरू, राजकुमारहरू, जर्नेलहरू, धनीहरू, बलियाहरू, हरेक दास र स्‍वतन्‍त्र मानिस पहाड़का गुफाहरू र चट्टानहरू हुँदो लुके।

16 तिनीहरूले पहाड़हरू र चट्टानहरूलाई भने, “हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाओ,

17 किनकि उहाँहरूका क्रोधको ठूलो दिन आएको छ, र यसको अगि को खड़ा हुन सक्‍छ?”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy