प्रकाश 5 - नेपाली नयाँ संशोधित संस्करणचर्मपत्रको मुट्ठो र थुमा 1 सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखें, जो सात वटा मोहोर लगाएर बन्द गरिएको थियो। 2 अनि एउटा बलवान् स्वर्गदूतलाई ठूलो आवाजले यसो भनिरहेको मैले देखें, “यो मुट्ठो खोल्न र यसका मोहोरहरू तोड्न योग्य को छ?” 3 स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि यो चर्मपत्रको मुट्ठो खोल्न वा त्यसभित्र हेर्न सक्ने कोही थिएन। 4 कोही पनि त्यो चर्मपत्रको मुट्ठो खोल्ने अथवा त्यसभित्र हेर्ने योग्यको नपाइएको हुनाले म खूबै रोएँ। 5 तब धर्म-गुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्न विजयी हुनुभएको छ।” 6 तब मैले एउटा थुमा उभिरहनुभएको देखें, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो। उहाँ सिंहासन र चार जीवित प्राणीहरूका बीचमा, र धर्म-गुरुहरूका माझमा हुनुहुन्थ्यो। उहाँका सात वटा सीङ र सात वटा आँखा थिए, जुनहरू सारा पृथ्वीमा पठाइएका परमेश्वरका सात आत्मा हुन्। 7 उहाँ जानुभयो, र सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीबाट त्यो मुट्ठो लिनुभयो। 8 जब उहाँले त्यो मुट्ठो लिनुभयो, तब ती चारै जीवित प्राणी र चौबीसै धर्म-गुरुहरू थुमाको सामुन्ने घोप्टो परे। प्रत्येकको हातमा वीणा र धूपले भरिएका सुनका पात्रहरू थिए, जो सन्तहरूका प्रार्थना हुन्। 9 तिनीहरूले यसो भन्दै एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्रको मुट्ठो लिने र त्यसका मोहोरहरू तोड्ने योग्यका हुनुहुन्छ, तपाईं मारिनुभयो र आफ्नो रगतद्वारा तपाईंले परमेश्वरको निम्ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो, 10 र तिनीहरूलाई राज्य र हाम्रा परमेश्वरका पूजाहारी बनाउनुभएको छ, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्।” 11 तब मैले हेरें, अनि सिंहासन, जीवित प्राणीहरू र धर्म-गुरुहरूका वरिपरि धेरै स्वर्गदूतहरूका आवाज सुनें। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो। 12 तिनीहरू चर्को सोरले यसो भनिरहेका थिए, “मारिएका थुमा सामर्थ्य, वैभव, बुद्धि, शक्ति सम्मान, महिमा, र स्तुति ग्रहण गर्ने योग्यका हुनुहुन्छ।” 13 अनि स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि, समुद्र र त्यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुनें, “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्तुति, सम्मान, महिमा, र सामर्थ्य सदासर्वदा होस्।” 14 तब ती चारै जीवित प्राणीले भने, “आमेन।” अनि ती धर्म-गुरुहरूले घोप्टो परेर दण्डवत् गरे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society