प्रकाश 4 - नेपाली नयाँ संशोधित संस्करणस्वर्गीय सिंहासनको दर्शन 1 यसपछि मैले हेरें, र स्वर्गमा एउटा ढोका देखें, जो खुला थियो। मैले पहिले सुनेको सोर तुरहीको जस्तो आवाजमा मसँग यसरी बोलिरहेको थियो— “यतामाथि आऊ, र अब यसपछि जुन कुराहरू हुनुपर्छ सो म तिमीलाई देखाउनेछु।” 2 म तुरुन्तै आत्मामा भएँ। हेर, स्वर्गमा एउटा सिंहासन थियो, र एक जना त्यस सिंहासनमा विराजमान हुनुहुन्थ्यो। 3 त्यहाँ विराजमान हुनुहुनेको मुहार बिल्लौर र लालमणिजस्तै देखिन्थ्यो, र सिंहासनको वरिपरि पन्नाजस्तो इन्द्रेनी थियो। 4 त्यस सिंहासनको वरिपरि चौबीस सिंहासनहरू थिए, र शिरमा सुनका मुकुटहरू र सेता पोशाकहरू पहिरेका चौबीस जना धर्म-गुरुहरू ती सिंहासनमा बसेका मैले देखें। 5 त्यस सिंहासनबाट बिजुलीहरू, आवाजहरू र गर्जनहरू निस्केर आउँथे, र त्यस सिंहासनको सामुन्ने आगोका सात वटा बत्तीहरू बलिरहेका थिए। यी परमेश्वरका सात आत्माहरू हुन्। 6 सिंहासनको अगि स्फटिकतुल्य काँचको समुद्रजस्तो थियो। अगाडि र पछाडि जम्मै आँखै-आँखा भएका चार वटा जीवित प्राणी सिंहासनको वरिपरि र चारैपट्टि थिए। 7 पहिलो प्राणी सिंहजस्तै थियो, दोस्रो प्राणी बहरजस्तै, तेस्रो प्राणीको अनुहार मानिसको जस्तै र चौथो प्राणी उड़िरहेको गरुडजस्तै थियो। 8 ती चारै वटा प्राणीका छ-छ वटा पखेटा थिए र चारैपट्टि र भित्रपट्टि आँखाहरूले भरिएका थिए। दिनरात तिनीहरू नथामिकन यसो भन्दै गाइरहन्छन्, “पवित्र, पवित्र, पवित्र परमप्रभु सर्वशक्तिमान् परमेश्वर, जो हुनुहुन्थ्यो र हुनुहुन्छ र जो आउनुहुनेछ।” 9 जब-जब ती जीवित प्राणीहरूले सिंहासनमा विराजमान हुनुहुने र जो सदासर्वदा जीवित रहनुहुन्छ, उहाँलाई महिमा, आदर, धन्यवाद चढ़ाउँछन्, 10 तब ती चौबीस जना धर्म-गुरुहरू सिंहासनमा विराजमान हुनुहुनेको सामुन्ने घोप्टो पर्दछन्, र सदासर्वदा जीवित रहनुहुनेलाई दण्डवत् गर्दछन्, र तिनीहरूका आ-आफ्ना मुकुट सिंहासनको सामुन्ने राखेर यसरी गाउँछन्: 11 “हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society