Online Bible

- Reklamy -

प्रकाश 3 - नेपाली नयाँ संशोधित संस्करण


सार्डिसको मण्‍डली

1 अनि सार्डिसका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा परमेश्‍वरका सात आत्‍मा र सात तारा हुनेले भन्‍दछ। तिम्रा काम मलाई थाहा छ। तिमी जीवित छौ भन्‍ने नाउँ त छ, तर तिमीहरू मरेका छौ।

2 जागा रहो र मर्नै लागेका रहल कुराहरूलाई दह्रिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्‍वरको दृष्‍टिमा सिद्ध भएको भेट्टाएको छैनँ।

3 यसकारण तिमीले जे पायौ र सुन्‍यौ, सो सम्‍झ, त्‍यसलाई कायम राख र पश्‍चात्ताप गर। यदि तिमी जागा रहेनौ भनेता म चोरजस्‍तै आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ।

4 तर सार्डिसमा कति व्‍यक्ति छन्, जसले आफ्‍ना लुगा बिटुलो पारेका छैनन्‌। तिनीहरू मसँग सेता वस्‍त्र लाएर हिँड्‌नेछन्, किनकि तिनीहरू योग्‍यका छन्‌।

5 जसले जित्‍छ, त्‍यसलाई यसरी सेता वस्‍त्र पहिराइन्‍छ, र म त्‍यसको नाउँ जीवनको पुस्‍तकबाट मेटिदिनेछैनँ। म त्‍यसको नाउँ मेरा पिताको सामुन्‍ने र उहाँका दूतहरूका सामुन्‍ने स्‍वीकार गर्नेछु।

6 जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।


फिलाडेल्‍फियाको मण्‍डली

7 अनि फिलाडेल्‍फियाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा त्‍यसले भन्‍दछ, जो पवित्र छ, जो सत्‍य छ, जससँग दाऊदको साँचो छ, जसले खोल्‍छ, कसैले थुन्‍नेछैन, र जसले थुन्‍छ, कसैले खोल्‍नेछैन।

8 मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रा सामुन्‍ने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्‍न सक्‍दैन। तिमीसँग थोरै शक्ति छ भन्‍ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्‍कार गरेका छैनौ।

9 हेर, शैतानको सभाघरका यहूदी नभए तापनि यहूदी हौं भनी झूटा बोल्‍नेहरूलाई म आएर तिम्रा चरणमा ढोग्‍न लाउनेछु र तिमीलाई म प्रेम गर्दछु भन्‍ने तिनीहरूलाई बुझाइदिनेछु।

10 तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्‍यस बेलादेखि म बचाउनेछु, जो पृथ्‍वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ।

11 म चाँड़ै आइरहेछु। तिमीसँग जे छ त्‍यसलाई पक्रिराख, र तिम्रो मुकुट कसैले लिनेछैन।

12 जसले जित्‍छ, त्‍यसलाई म मेरा परमेश्‍वरका मन्‍दिरको एउटा स्‍तम्‍भ बनाउनेछु, र ऊ त्‍यहाँबाट कहिल्‍यै बाहिर निस्‍कनेछैन। म त्‍यसमा मेरा परमेश्‍वरको नाउँ लेख्‍नेछु, र मेरा परमेश्‍वरका सहरको नाउँ, अर्थात्‌ यरूशलेम लेख्‍नेछु, जो मेरा परमेश्‍वरबाट स्‍वर्गदेखि तल आउँदछ। आफ्‍नै नयाँ नाउँ पनि म त्‍यसमा लेख्‍नेछु।

13 जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।


लाउडिकियाको मण्‍डली

14 अनि लाउडिकियाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा आमेन, विश्‍वासयोग्‍य र साँचो साक्षी र परमेश्‍वरका सृष्‍टिको शासकले भन्‍दछ।

15 मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो।

16 किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु।

17 “म धनी छु, र मसित धन-सम्‍पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्‍दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्‍धा र नाङ्गा छौ।

18 यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्‍नो नग्‍नताको शर्म ढाक्‍नलाई सेतो वस्‍त्र र तिमीले देख्‍न सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किन्‍ने म तिमीलाई सल्‍लाह दिन्‍छु।

19 जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्‍काउँछु, र ताड़ना दिन्‍छु। यसकारण उत्‍साहित होओ। पश्‍चात्ताप गर।

20 हेर, म ढोकामा उभिएर ढकढक्‍याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्‍यसकहाँ भित्र पस्‍नेछु र त्‍यससँग भोजन खानेछु, र त्‍यसले मसँग खानेछ।

21 जसले जित्‍छ, त्‍यसलाई म मेरो सिंहासनमा मसित बस्‍न दिनेछु, जसरी म आफैले पनि जितें, र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु।

22 जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy