Online Bible

- Reklamy -

प्रकाश 20 - नेपाली नयाँ संशोधित संस्करण


एक हजार वर्ष

1 त्‍यसपछि अतल कुण्‍डको साँचो र एउटा ठूलो साङ्‌लो हातमा लिएका एउटा स्‍वर्गदूत स्‍वर्गबाट ओर्लेर आएका मैले देखें।

2 तिनले त्‍यो अजिङ्गर, त्‍यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो, त्‍यसलाई पक्रे, अनि एक हजार वर्षका निम्‍ति बाँधेर राखे।

3 तिनले त्‍यसलाई अतल कुण्‍डमा फालिदिए, र त्‍यो कुण्‍ड बन्‍द गरी मोहोर लगाइदिए, ताकि एक हजार वर्ष अन्‍त्‍य नभएसम्‍म जाति-जातिहरूलाई त्‍यसले बहकाउन नपाओस्‌। त्‍यसपछि केही समयको निम्‍ति त्‍यसलाई फुक्‍का गरिनुपर्छ।

4 तब मैले सिंहासनहरू र त्‍यसमाथि बस्‍नेहरूलाई देखें, जसलाई इन्‍साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्‍ति र परमेश्‍वरका वचनको निम्‍ति शिर काटिएकाहरू, र त्‍यो पशु र त्‍यसका मूर्तिको पूजा नगर्नेहरू र त्‍यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्‍माहरूलाई मैले देखें। तिनीहरू फेरि जीवित भए, र तिनीहरूले ख्रीष्‍टसँग एक हजार वर्षसम्‍म राज्‍य गरे।

5 अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्‍जेल जीवित भएनन्‌। यो पहिलो पुनरुत्‍थान हो।

6 पहिलो पुनरुत्‍थानमा सहभागी हुनेहरू धन्‍य र पवित्र हुन्‌। यिनीहरूलाई दोस्रो मृत्‍युको शक्तिले केही गर्न सक्‍दैन, तर तिनीहरू परमेश्‍वर र ख्रीष्‍टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्‍म राज्‍य गर्नेछन्‌।


शैतानको अन्तिम विनाश

7 एक हजार वर्ष बितेपछि शैतान त्‍यसको कैदबाट छोडिनेछ,

8 र पृथ्‍वीका चारै दिशामा भएका देश-देशका मानिसहरूलाई बहकाउन, अर्थात्‌ गोग र मागोगलाई लड़ाइँको निम्‍ति भेला गर्न निस्‍केर आउनेछ। तिनका संख्‍या समुद्रका बालुवा जत्तिकै हुनेछ।

9 तिनीहरूले सारा पृथ्‍वीभरि गएर सन्‍तहरूका छाउनीको वरिपरि र प्रिय सहरलाई घेरे, तर स्‍वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्‍म पार्‍यो।

10 तिनीहरूलाई बहकाउने त्‍यो दियाबलस आगो र गन्‍धकको कुण्‍डमा फालियो, जहाँ त्‍यो पशु र झूटो अगमवक्ता पनि थिए। त्‍यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्‍नेछन्‌।


मृतकहरूको इन्साफ

11 तब मैले एउटा ठूलो सेतो सिंहासन र त्‍यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्‍नेबाट पृथ्‍वी र आकाश भागेर गए, र तिनीहरूका निम्‍ति कतै ठाउँ पाइएन।

12 मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्‍ने उभिरहेका देखें, र पुस्‍तकहरू खोलिए। अर्को एउटा पुस्‍तक पनि खोलियो, जो जीवनको पुस्‍तक हो। ती पुस्‍तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्‍साफ भयो।

13 समुद्रले त्‍यसमा भएका मृतकहरू दिइहाल्‍यो, अनि मृत्‍यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्‍येकको आ-आफ्‍ना कामअनुसार इन्‍साफ भयो।

14 मृत्‍यु र पाताल अग्‍नि-कुण्‍डमा फालिए। यो अग्‍नि-कुण्‍ड दोस्रो मृत्‍यु हो।

15 जसको नाउँ जीवनको पुस्‍तकमा लेखिएको भेट्टाइएन त्‍यो अग्‍नि-कुण्‍डमा फालियो।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy