Online Bible

- Reklamy -

प्रकाश 15 - नेपाली नयाँ संशोधित संस्करण


सात स्वर्गदूतहरू र सात विपत्ति

1 मैले स्‍वर्गमा ठूलो र अचम्‍मको अर्को एउटा चिन्‍ह देखें: सात स्‍वर्गदूतहरूले सात वटा अन्‍तिम विपत्ति लिएका थिए, किनकि तिनीहरूमा नै परमेश्‍वरको क्रोध समाप्‍त भएको छ।

2 आगोसँग मिसिएका काँचको समुद्रजस्‍तो मैले देखें। त्‍यहाँ पशु र त्‍यसको मूर्तिमाथि र त्‍यसका नाउँको संख्‍यामाथि विजय पाउनेहरू आफ्‍ना हातमा परमेश्‍वरको वीणा लिई त्‍यस काँचका समुद्रको किनारमा खड़ा थिए।

3 तिनीहरूले यसो भनेर परमेश्‍वरका दास मोशाको भजन र थुमाको भजन गाउँदैथिए, “हे परमप्रभु परमेश्‍वर सर्वशक्तिमान्, तपाईंका कार्य महान्‌ र आश्‍चर्यपूर्ण छन्, युग-युगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्‍य छन्‌।

4 हे परमप्रभु, तपाईंको डर कसले मान्‍दैन? र तपाईंका नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्‍छ। सबै जातिले आएर तपाईंलाई दण्‍डवत्‌ गर्नेछन्, किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट भएका छन्‌।”

5 यी कुरापछि मैले हेरें, र स्‍वर्गमा गवाहीका मण्‍डपको मन्‍दिर उघारियो।

6 स्‍वच्‍छ र उज्‍ज्‍वल वस्‍त्र धारण गरेका र छातीमा सुनौलो फित्ता बाँधेका सात स्‍वर्गदूतहरू सात विपत्ति लिएर मन्‍दिरबाट बाहिर निस्‍के।

7 ती चार जीवित प्राणीमध्‍ये एउटाले सदासर्वदा जीवित रहनुहुने परमेश्‍वरको क्रोधले भरिएका सुनका सात कचौरा ती सात स्‍वर्गदूतलाई दिए।

8 अनि परमेश्‍वरको महिमा र उहाँका शक्तिको कारण मन्‍दिर धूवाँले भरियो। ती सात स्‍वर्गदूतका सात विपत्ति नसिद्धिञ्‍जेल कोही पनि मन्‍दिरभित्र पस्‍न सकेन।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy