Online Bible

- Reklamy -

प्रकाश 11 - नेपाली नयाँ संशोधित संस्करण


दुई साक्षीहरू

1 त्‍यसपछि नाप्‍ने टाँगोजस्‍तै एउटा निगालो मलाई दिइयो, र यसो भनियो, “उठ, र परमेश्‍वरको मन्‍दिर र वेदीको नाप लेऊ, र त्‍यहाँ आराधना गर्नेहरूको गन्‍ती लेऊ।

2 तर मन्‍दिरबाहिर रहेका आँगनलाई चाहिँ छोड र ननाप, किनकि त्‍योचाहिँ जाति-जातिहरूलाई दिइएको छ, र बयालीस महिनासम्‍म पवित्र सहरलाई तिनीहरूले कुल्‍चीमिल्‍ची गर्नेछन्‌।

3 मेरा दुई साक्षीहरूलाई एक हजार दुई सय साठी दिनसम्‍म भाङ्‌ग्राको वस्‍त्र लाएर अगमवाणी बोल्‍ने शक्ति म दिनेछु।”

4 पृथ्‍वीका प्रभुको सामुन्‍ने खड़ा रहेका जैतूनका दुई रूखहरू र दुई सामदानहरू यी नै हुन्‌।

5 यदि कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्‍छा गर्‍यो भने, तिनीहरूका मुखबाट निस्‍केको आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ। कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्‍छा गर्‍यो भने त्‍यो त्‍यही किसिमले मारिनेछ।

6 तिनीहरूले अगमवाणी बोलेका दिनहरूमा पानी नपरोस्‌ भनी आकाश बन्‍द गर्ने तिनीहरूसित शक्ति छ, र पानीहरूलाई रगत तुल्‍याउने र तिनीहरूलाई इच्‍छा लागेको बेलामा पृथ्‍वीमा हरकिसिमका विपत्ति ल्‍याउने तिनीहरूसित शक्ति छ।

7 तिनीहरूले आफ्‍नो गवाहीको काम सिद्ध्‌याइसकेपछि अतल कुण्‍डबाट निस्‍किआउने त्‍यस पशुले तिनीहरूसँग लड़ाइँ गरी तिनीहरूलाई जितेर मार्नेछ।

8 तिनीहरूका लाशहरू त्‍यस ठूलो सहरको सड़कमा पड़िरहनेछन्, जुन सहरलाई सांकेतिक रूपमा सदोम र मिश्र भनिन्‍छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।

9 साढ़े तीन दिनसम्‍म तिनका लाशहरूलाई मानिसहरू, कुलहरू, भाषाहरू र जाति-जातिका मानिसहरूले हेर्नेछन्‌ र ती लाशहरू गाड्‌न दिनेछैनन्‌।

10 पृथ्‍वीमा रहनेहरू तिनीहरूका मृत्‍युमा रमाउनेछन्, आनन्‍द मनाउनेछन्‌ र आपसमा उपहार लिने-दिने गर्नेछन्‌। किनभने ती दुई अगमवक्ताहरूले पृथ्‍वीमा रहनेहरूलाई सास्ती दिएका थिए।

11 साढ़े तीन दिनपछि परमेश्‍वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्‍यो, र तिनीहरू आफ्‍ना गोडामा खड़ा भए, अनि तिनीहरूलाई देख्‍नेहरूमाथि ठूलो डर छायो।

12 अनि तिनीहरूले स्‍वर्गबाट यस्‍तो एउटा ठूलो आवाज सुने, “यता माथि आओ।” र तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमा स्‍वर्गतिर गए।

13 त्‍यही घड़ी ठूलो भूकम्‍प गयो, र सहरको दशौँ भाग ढल्‍यो, र भूकम्‍पमा सात हजार मानिसहरू मारिए। अरू बाँचेकाहरू डराए र स्‍वर्गका परमेश्‍वरलाई महिमा दिए।

14 दोस्रो विपत्ति बित्‍यो, “हेर, तेस्रो विपत्ति चाँड़ै आउँदैछ।”


सातौँ तुरही

15 अनि सातौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र त्‍यसपछि स्‍वर्गमा यसो भन्‍ने ठूला-ठूला आवाज गुञ्‍जिए, “संसारको राज्‍य हाम्रा प्रभुको र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ, अनि उहाँले सदासर्वदा राज्‍य गर्नुहुनेछ।”

16 अनि परमेश्‍वरको सामुन्‍ने आ-आफ्‍ना सिंहासनमा बस्‍ने ती चौबीसै धर्म-गुरुहरूले घोप्‍टो परी परमेश्‍वरलाई दण्‍डवत्‌ गरे,

17 भन्‍न लागे, “हे परमप्रभु परमेश्‍वर सर्वशक्तिमान्, हामी तपाईंलाई धन्‍यवाद चढ़ाउँछौं, जो हुनुहुन्‍छ र जो हुनुहुन्‍थ्‍यो, किनभने तपाईंले आफ्‍नो ठूलो सामर्थ्‍य हातमा लिनुभयो र राज्‍य गर्न थाल्‍नुभयो।

18 जाति-जातिहरू क्रुद्ध भए, तर तपाईंको क्रोध प्रकट भयो। मरेकाहरूका इन्‍साफको समय आयो, र तपाईंका दासहरू र अगमवक्ताहरू र सन्‍तहरूलाई र तपाईंका नाउँको डर मान्‍ने ठूला-सानाहरूलाई इनाम दिने समय, र पृथ्‍वीको विनाश गर्नेहरूलाई नाश गर्ने समय आयो।”

19 स्‍वर्गमा परमेश्‍वरको मन्‍दिर खोलियो, र उहाँको मन्‍दिरभित्र उहाँका करारको सन्‍दूक देखियो। बिजुलीका चमक देखिए। आवाज र मेघ गर्जनहरू सुनिए। भूकम्‍प गए र ठूला-ठूला असिना परे।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy