Online Bible

- Reklamy -

भजनसंग्रह 8 - नेपाली नयाँ संशोधित संस्करण


परमेश्‍वरको महिमा र मानिसको मर्यादा
सङ्गीत-निर्देशकको निम्‍ति गित्तितअनुसार दाऊदको भजन

1 हे हाम्रा सर्वमान्‍य परमप्रभु, सारा पृथ्‍वीभरि तपाईंको नाउँ कति महिमित छ! तपाईंका महिमाको स्‍तुतिगान उच्‍च स्‍वर्गमा हुँदछ।

2 शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्‍नुभएको छ, तपाईंका शत्रुहरूका कारणले, अनि शत्रु र प्रतिपक्षीलाई चूप गराउनलाई तपाईंले यसो गर्नुभएको छ।

3 जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्‍थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु,

4 मानिस के हो, र तपाईं त्‍यसको वास्‍ता राख्‍नुहुन्‍छ? मानिसको छोरो के हो, र तपाईं त्‍यसको फिक्री गर्नुहुन्‍छ?

5 तपाईंले त्‍यसलाई स्‍वर्गीय प्राणीहरूभन्‍दा केही मात्र सानो बनाउनुभयो, र त्‍यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।

6 आफ्‍नो हातका कामहरूमाथि तपाईंले त्‍यसलाई शासक बनाउनुभएको छ। सबै थोक तपाईंले त्‍यसका पैतालामुनि राखिदिनुभएको छ—

7 सबै भेड़ाबाख्रा र गाई-गोरु र वनका सबै पशुहरू,

8 आकाशका पक्षीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौड़ने सबै जन्‍तुहरू।

9 हे हाम्रा सर्वमान्‍य परमप्रभु, सारा पृथ्‍वीभरि तपाईंको नाउँ कति गौरवमय छ!

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy