भजनसंग्रह 6 - नेपाली नयाँ संशोधित संस्करणसङ्कष्टमा कृपाको निम्ति प्रार्थना सङ्गीत-निर्देशकको निम्ति तार-वाद्यमा शिमिनिथअनुसार दाऊदको भजन 1 हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्, तपाईंको रोषमा मलाई ताड़ना नदिनुहोस्। 2 ममाथि दया गर्नुहोस्, हे परमप्रभु, किनभने म अति दुर्बल छु। हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाड़हरूमा पीडा छ। 3 मेरो प्राण पनि साह्रै बेचैनीमा छ। कहिलेसम्म, हे परमप्रभु, कहिलेसम्म पर्खनु? 4 मतिर फर्कनुहोस्, हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्। तपाईंको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्। 5 मृत्युमा तपाईंको सम्झना हुँदैन, पातालमा कसले तपाईंको प्रशंसा गर्न सक्छ र? 6 आफ्नो आर्तनादले थाकेर म लाचार भएको छु, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु। 7 शोकले गर्दा मेरा आँखा धमिला भएका छन्। मेरा शत्रुहरूले गर्दा ती कमजोर भएका छन्। 8 हे सबै कुकर्मी हो, मबाट दूर होओ! किनकि म रोएको परमप्रभुले सुन्नुभएको छ। 9 परमप्रभुले कृपाको निम्ति मेरो पुकार सुन्नुभएको छ, मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुहुन्छ। 10 मेरा सबै शत्रुहरू शर्ममा पर्नेछन्, र ज्यादै घबराउनेछन्, र पलभरमा लज्जित भएर पछि हट्नेछन्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society