Online Bible

- Reklamy -

भजनसंग्रह 5 - नेपाली नयाँ संशोधित संस्करण


सुरक्षाको निम्‍ति प्रार्थना
सङ्गीत-निर्देशकको निम्‍ति बाँसुरीको साथमा गाउने दाऊदको भजन

1 हे परमप्रभु, मेरा वचनहरूमा कान थाप्‍नुहोस्‌! मेरो सुस्‍केरामा ध्‍यान दिनुहोस्‌!

2 हे मेरा राजा, हे मेरा परमेश्‍वर, मेरो दुहाई सुनिदिनुहोस्‌, किनकि तपाईंमा नै म प्रार्थना गर्दछु।

3 हे परमप्रभु, बिहानै तपाईंले मेरो सोर सुन्‍नुहुन्‍छ। सबेरै तपाईंको अगि मेरो प्रार्थना राख्दछु, र आशामा पर्खन्‍छु।

4 तपाईं दुष्‍टतामा प्रसन्‍न हुने परमेश्‍वर हुनुहुन्‍न। खराबी तपाईंमा वास गर्न सक्‍दैन।

5 घमण्‍डी मानिस तपाईंको सामु टिक्‍नै सक्‍दैन। दुष्‍ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्‍छ।

6 झूट बोल्‍नेहरूलाई तपाईं नाश गर्नुहुन्‍छ। परमप्रभुले हत्‍याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्‍छ।

7 तर मचाहिँ तपाईंको अपार कृपाको कारणद्वारा, तपाईंको भवनभित्र पस्‍नेछु। भक्तिसाथ तपाईंको पवित्र मन्‍दिरतिर फर्की दण्‍डवत्‌ गर्नेछु।

8 हे परमप्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईंको धार्मिकतामा मलाई डोर्‍याउनुहोस्‌। तपाईंको मार्ग मेरो सामुन्‍ने सोझो पारिदिनुहोस्‌।

9 तिनीहरूको मुखमा सत्‍यता छैन, अनि तिनीहरूको हृदय दुष्‍टताले भरिएको छ। तिनीहरूको घोक्रो खुला चिहान हो, अनि आफ्‍नो जिब्रोले तिनीहरू छलका कुरा बोल्‍छन्‌।

10 हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्‌। आफ्‍नै जाल तिनीहरूका पतनको कारण होस्‌। तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्‍यागिदिनुहोस्‌। किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन्‌।

11 तर तपाईंमा शरण लिनेहरूचाहिँ रमाऊन्‌, र तिनीहरू सधैँ हर्षले गाऊन्‌। तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्‌, र तपाईंको नाउँलाई प्रेम गर्नेहरू तपाईंमा आनन्‍दित होऊन्‌।

12 किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष्‌ दिनुहुन्‍छ, ढालले रक्षा गरेझैँ आफ्‍नो कृपा-दृष्‍टिले तिनीहरूलाई घेरिराख्‍नुहुन्‍छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy