भजनसंग्रह 40 - नेपाली नयाँ संशोधित संस्करणसहायताको निम्ति प्रार्थना सङ्गीत-निर्देशकका निम्ति दाऊदको भजन 1 मैले धैर्यसाथ परमप्रभुको प्रतीक्षा गरें, उहाँले ममाथि दृष्टि गर्नुभयो र मेरो पुकारा सुन्नुभयो। 2 उहाँले मलाई सर्वनाशको खाड़ल र हिले धापबाट निकाल्नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो, र मलाई उभिन दृढ़ स्थान दिनुभयो। 3 उहाँले मेरा ओठमा एउटा नयाँ गीत राखिदिनुभयो, हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत। धेरैले यो देख्नेछन् र डराउनेछन्, र परमप्रभुमा भरोसा राख्नेछन्। 4 त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा आफ्नो भरोसा राख्तछ, जसले अभिमानीहरूतिर हेर्दैन, न त तिनीहरूतिर, जो झूटा देवहरूपट्टि लाग्छन्। 5 हे परमप्रभु मेरा परमेश्वर, तपाईंले गर्नुभएका अचम्मका कामहरू धेरै छन्। तपाईंले हाम्रा निम्ति गर्नुभएका योजनाहरू तपाईंको अगि कसैले वर्णन गर्न सक्दैन। मैले तिनका बारेमा वर्णन गर्न चाहें भने पनि ती घोषणा गर्न सक्नेभन्दा धेरै हुन्छन्। 6 बलिदान र भेटी तपाईंले चाहनुभएन, तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ। होमबलि र पापबलिको माग तपाईंले गर्नुभएन। 7 तब मैले भनें, “म यहीँ छु, म आएको छु— धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ। 8 हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म चाहन्छु, तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।” 9 म ठूलो सभामा उद्धारको सुसमाचार सुनाउँछु। मेरा ओठहरू म बन्द गर्दिनँ, हे परमप्रभु, तपाईंलाई यो थाहा छ। 10 तपाईंको धार्मिकता म मेरो हृदयभित्र लुकाउँदिनँ। तपाईंको विश्वस्तता र तपाईंबाट हुने उद्धारको विषयमा म बोल्दछु। तपाईंको प्रेम र तपाईंको सत्यता म ठूलो सभाबाट लुकाउँदिनँ। 11 हे परमप्रभु, आफ्नो कृपा मदेखि नरोक्नुहोस्। तपाईंको प्रेम र तपाईंको सत्यताले मलाई निरन्तर रक्षा गरोस्। 12 किनकि अनगन्ती कष्टहरूले मलाई घेरेका छन्, मेरा अपराधहरूले मलाई यतिसम्म दबाएका छन्, कि म देख्न पनि सक्दिनँ। ती मेरा शिरका केशभन्दा बढ़ी छन्, अनि मेरो हृदय हताश भएको छ। 13 हे परमप्रभु, मलाई बचाउन मन पराउनुहोस्। हे परमप्रभु, मलाई मदत गर्न चाँड़ै आउनुहोस् 14 मेरो प्राण लिन खोज्नेहरू सबै लाज र अन्योलमा परून्। मेरो विनाशको कामना गर्नेहरू सबै पिठिउँ फर्काएर जाऊन् र अपमानित होऊन्। 15 मेरो ठट्ठा उड़ाउनेहरू आफ्नै लाजले गर्दा व्याकुल होऊन्। 16 तर जस-जसले तपाईंलाई खोज्छन्, ती सबै तपाईंमा रमाऊन् र आनन्दित होऊन्। तपाईंको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्तर भनून्, “परमप्रभुको नाउँ उच्च होस्।” 17 तर म त गरीब र दरिद्र छु। परमप्रभुले मेरो विचार गरून्। तपाईं मेरा सहायक र मलाई छुटकारा दिने हुनुहुन्छ, हे मेरा परमेश्वर, विलम्ब नगर्नुहोस्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society