भजनसंग्रह 39 - नेपाली नयाँ संशोधित संस्करणजीवनको क्षणभङ्गुरता सङ्गीत-निर्देशकको निम्ति यदूतूनको लागि दाऊदको भजन 1 मैले भनें, “म आफ्नो चालचलनमा सावधान रहनेछु, र आफ्नो जिब्रोलाई पापबाट रोक्नेछु। दुष्टहरू मेरो सामुन्ने रहुञ्जेल म आफ्नो मुखमा महला लाएर बस्नेछु।” 2 तर जब म मौन र शान्त बसें, अनि असल कुरा पनि बोलिनँ, मेरो पीडा झन् बढ़ेर आयो। 3 मभित्र मेरो हृदय सन्तापित भयो, जति सोचे त्यति नै मभित्र आगो दन्कियो। तब मैले मुख खोलेर भनें: 4 हे परमप्रभु, मेरो जीवनको अन्त देखाउनुहोस्। मेरो जीवनका अब कति दिन बाँकी छन्, र मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्न दिनुहोस्। 5 तपाईंले मेरो जीवनकाल बित्ताभरको बनाउनुभएको छ, र मेरो आयु तपाईंको दृष्टिमा केही पनि होइन। मानिसको जीवन एक मुट्ठी सासमा मात्र अड़ेको छ। सेला 6 मानिस छायाजस्तै मात्र हिँड्डुल गर्छ, त्यसले व्यर्थमा हलचल गर्दछ, त्यसले धन-सम्पत्ति थुपार्छ, तर त्यो बटुल्ने को हुन्छ, त्यसले जान्दैन। 7 अब हे परमप्रभु, म केको निम्ति प्रतीक्षा गर्दछु? मेरो आशा त तपाईंमा नै छ। 8 मेरा सबै अपराधहरूबाट मलाई छुटाउनुहोस्, मूर्खहरूका तिरस्कारको पात्र मलाई नबनाउनुहोस्। 9 म मौन थिएँ, मैले आफ्नो मुख खोलिनँ, किनभने त्यो गर्ने तपाईं नै हुनुहुन्छ। 10 तपाईंको प्रहार मबाट हटाउनुहोस्, तपाईंको हातको मुक्काबाट म पराजित भएको छु। 11 तपाईंले मानिसलाई त्यसका पापको निम्ति हप्काउनुहुन्छ र ताड़ना दिनुहुन्छ, कीराले खाएझैँ त्यसको सम्पत्तिलाई सखाप पारिदिनुहुन्छ। प्रत्येक मानिस एक मुट्ठी सास मात्र हो। सेला 12 “हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, मदतको लागि मैले गरेको क्रन्दन सुनिदिनुहोस्, मेरो आँसु त्यसै नटारिदिनुहोस्, किनकि मेरा सबै पुर्खाहरूजस्तै म एक प्रवासी हुँ, एउटा विदेशीझैँ म तपाईंसित वास गर्दछु। 13 म बिदा हुन अघि र मेरो नाम मेटिन अघि नै मबाट क्रोधको दृष्टि हटाउनुहोस्, र म फेरि हर्षित हुन सकूँ।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society