Online Bible

- Reklamy -

भजनसंग्रह 37 - नेपाली नयाँ संशोधित संस्करण


धर्म र अधर्मको परिणाम
दाऊदको भजन

1 दुष्‍टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहोऊ,

2 किनकि तिनीहरू चाँड़ै घाँसझैँ सुकिजानेछन्‌, र हरिया बिरुवाजस्‍तै ओइलिजानेछन्‌।

3 परमप्रभुमा भरोसा राख र भलाइ गर, त्‍यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ।

4 परमप्रभुमा आनन्‍दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ।

5 आफ्‍नो मार्ग परमप्रभुलाई सुम्‍प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ:

6 उहाँले तिम्रो धार्मिकता प्रभातझैँ ज्‍योतिसमान र तिम्रो मामिलाको न्‍याय मध्‍यदिनको सूर्यसमान पार्नुहुनेछ।

7 परमप्रभुको सामुन्‍ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्‍ना कुमार्गमा फलिफाप हुँदा र त्‍यसले खराब युक्तिहरू कार्यान्‍वयन गर्दा तिमी झर्को नमान।

8 रिसाउन छोड र क्रोधलाई त्‍याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्‍काउँछ।

9 किनकि कुकर्मीहरू बहिष्‍कृत हुनेछन्‌, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्‌।

10 अलिक बेरपछि दुष्‍टहरू रहनेछैनन्‌, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाइनेछैनन्‌।

11 तर नम्रहरूले देश अधिकार गर्नेछन्‌, र ठूलो शान्‍ति उपभोग गर्नेछन्‌।

12 दुष्‍टहरूले धर्मी जनका विरुद्धमा षड्‌यन्‍त्र रच्‍तछन्‌, र उनीहरूमाथि दाह्रा किट्‌दछन्‌,

13 तर प्रभुले तिनीहरूलाई हाँसोमा उड़ाइदिनुहुन्‍छ, किनभने तिनीहरूको दिन आइराखेको उहाँ जान्‍नुहुन्‍छ।

14 दु:खी र कङ्गालीहरूलाई ढाल्‍न, र सत्‍यको बाटोमा हिँड्‌नेहरूलाई मार्न, दुष्‍टहरूले तरवार थुत्‍छन्‌, र धनुमा ताँदो चढ़ाउँछन्‌।

15 तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेड्‌नेछन्‌, र तिनीहरूका धनु भाँचिनेछन्‌।

16 धेरै दुष्‍टहरूका सम्‍पत्तिको प्रचुरताभन्‍दा धर्मी जनहरूसँग भएको थोरै कुरो उत्तम हो।

17 किनकि दुष्‍टहरूका पाखुरा भाँचिनेछन्‌, तर धर्मीहरूलाई परमप्रभुले थामिराख्‍नुहुन्‍छ।

18 परमप्रभुले निर्दोष मानिसहरूको वास्‍ता गर्नुहुन्‍छ, र तिनीहरूको अधिकार सधैँभरि रहनेछ।

19 आपत्‌का दिनमा तिनीहरू लाजमा पर्नेछैनन्‌, र अनिकालका दिनमा तिनीहरूसँग प्रशस्‍त हुनेछ।

20 तर दुष्‍टहरू त नष्‍ट हुनेछन्‌, परमप्रभुका शत्रुहरूचाहिँ चउरको हरियालीजस्‍तै छन्‌, तिनीहरू लोप भइजानेछन्‌, धूवाँजस्‍तै तिनीहरू लोप हुनेछन्‌।

21 दुष्‍टहरूले ऋण लिन्‍छन्‌, र तिर्दैनन्‌, तर धर्मी जनहरूले उदारतापूर्वक दिन्‍छन्‌।

22 परमप्रभुबाट आशिष्‌ पाउनेहरूले देशमाथि अधिकार गर्छन्‌, तर उहाँबाट श्राप पाउनेहरूचाहिँ पन्‍साइनेछन्‌।

23 यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्‍यो भने उहाँले त्‍यसका पाइला दह्रिला पार्नुहुन्‍छ।

24 त्‍यसलाई ठेस लाग्‍यो भने पनि त्‍यो लोट्‌दैन, किनकि परमप्रभुले आफ्‍नो हातले समातेर त्‍यसलाई थाम्‍नुहुन्‍छ।

25 म जवान थिएँ, अब म वृद्ध भएको छु, तर धर्मी जनहरू त्‍यागिएका वा तिनका सन्‍तानले मागेर खानुपरेको मैले कहिल्‍यै देखेको छैनँ।

26 तिनको मुट्ठी सधैँ उदार रहन्‍छ, र तिनले खुला रूपले पैँचो दिन्‍छन्‌, र तिनका सन्‍तानले आशिष्‌ पाउनेछन्‌।

27 खराबीदेखि फर्केर अलग्‍ग बस र भलाइ गर, र तिमी सदासर्वदा देशमा बस्‍नेछौ।

28 किनकि परमप्रभु न्‍यायीलाई प्रेम गर्नुहुन्‍छ, र आफ्‍नो विश्‍वाशयोग्यहरूलाई उहाँले त्‍याग्‍नुहुन्‍न। तिनीहरू सधैँ सुरक्षित राखिनेछन्‌, तर दुष्‍टका सन्‍तान भने बहिष्‍कृत हुनेछन्‌।

29 धर्मीहरूले देश अधिकार गर्नेछन्‌, र त्‍यहाँ सधैँभरि वास गर्नेछन्‌।

30 धर्मी जनले ज्ञानको कुरा गर्छ, र त्‍यसको जिब्रोले न्‍यायको कुरा बोल्‍छ।

31 त्‍यसको हृदयमा त्‍यसका परमेश्‍वरको व्‍यवस्‍था हुन्‍छ, त्‍यसका खुट्टा चिप्‍लँदैनन्‌।

32 धर्मी जनको हत्‍या गर्नलाई दुष्‍टहरू ढुकिबस्‍छन्‌।

33 तर परमप्रभुले धर्मी जनलाई तिनीहरूको शक्तिमा छोड्‌नुहुनेछैन, न त त्‍यसको न्‍याय हुँदाखेरि त्‍यसलाई दोषी ठहराउन दिनुहुन्‍छ।

34 परमप्रभुको प्रतीक्षा गर र उहाँकै मार्गमा हिँड़। प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्‍नुहुनेछ। दुष्‍टको विनाश तिम्रै आँखाले देख्‍नेछ।

35 मैले एक जना दुष्‍ट र अत्‍याचारी मानिसलाई देखेको छु, जो सप्रेको देवदारुको वृक्षजस्‍तो थियो।

36 तर त्‍यो चाँड़ै मर्‍यो र रहेन। मैले खोजें, तर त्‍यो पाउन सकिएन।

37 निर्दोष मानिसलाई विचार गर, र सत्‍यनिष्‍ठ जनलाई हेर, किनभने शान्‍तिप्रिय मानिसको सन्‍तान हुन्‍छ।

38 तर अपराधीहरूचाहिँ सखापै हुनेछन्‌, दुष्‍टका सन्‍तानचाहिँ बहिष्‍कृत हुनेछन्‌।

39 धर्मी जनहरूको उद्धार परमप्रभुको तर्फबाट हुन्‍छ, दु:खको समयमा उहाँ नै तिनीहरूको शरणस्‍थान हुनुहुन्‍छ।

40 परमप्रभुले तिनीहरूलाई मदत गर्नुहुन्‍छ र तिनीहरूको उद्धार गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई दुष्‍टबाट छुटाएर तिनीहरूलाई बचाउनुहुन्‍छ, किनभने तिनीहरूले उहाँको शरण लिन्‍छन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy