भजनसंग्रह 36 - नेपाली नयाँ संशोधित संस्करणपरमप्रभुको स्वभाव र दुष्टको चालचलन सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन 1 दुष्टका पापको सम्बन्धमा मेरो हृदयमा एउटा ईश्वरवाणी छ, त्यसका आँखाअगि परमेश्वरको डर हुँदैन। 2 किनकि त्यसले आफ्नो यति प्रशंसा गर्छ कि आफ्नो पाप त्यसले फेला पार्दैन र घृणा गर्दैन। 3 त्यसको मुखका कुराहरू दुष्ट र छली छन्। बुद्धिमानी हुनु र भलाइको काम गर्न त्यसले छोडिसकेको छ। 4 त्यसले आफ्नो ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछ, त्यसले आफूलाई कुमार्गतिर लगाउँछ, त्यसले खराबीलाई अस्वीकार गर्दैन। 5 हे परमप्रभु, तपाईंको कृपा स्वर्गैसम्म फैलिएको छ, तपाईंको विश्वसनीयता आकाशसम्मै। 6 तपाईंको धार्मिकता विशाल पहाड़हरूजस्तै छ, तपाईंको न्याय अगाध समुद्रजस्तै छ। हे परमप्रभु, तपाईंले मानिस र पशुलाई जोगाइराख्नुहुन्छ। 7 तपाईंको अडिग कृपा कति अनमोलको छ! मानिसका सन्तानले तपाईंका पखेटाको छायामा शरण पाउँछन्। 8 तपाईंका भवनको प्रचुरताबाट तिनीहरूले भोज गर्छन्, र तपाईंको सुख-चैनको नदीबाट तपाईंले तिनीहरूलाई पियाउनुहुन्छ। 9 किनकि जीवनको स्रोत तपाईंसँग छ, तपाईंकै ज्योतिमा हामी प्रकाश देख्छौं। 10 तपाईंलाई चिन्नेहरूमाथि तपाईंको प्रेम रहिरहोस्। र सत्यनिष्ठ हृदय हुनेहरूमा तपाईंको धार्मिकता रहिरहोस्। 11 अहङ्कारीको खुट्टा मलाई कुल्चन नआओस्, न त दुष्टको हातले मलाई गलहत्त्याउन पाओस्। 12 कुकर्मीहरू कसरी ढलेर लम्पसार परेका छन्, तिनीहरू उठ्नै नसक्ने गरी पछारिएका छन्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society