Online Bible

- Reklamy -

भजनसंग्रह 35 - नेपाली नयाँ संशोधित संस्करण


न्‍यायको निम्‍ति प्रार्थना
दाऊदको भजन

1 हे परमप्रभु, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्‌, मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्‌।

2 कवच पहिरनुहोस्‌ र ढाल लिनुहोस्‌, र मेरो सहायतामा खड़ा हुनुहोस्‌।

3 मलाई खेद्‌नेहरूका विरुद्धमा भाला र बर्छा उठाउनुहोस्‌, मेरो प्राणलाई भन्‍नुहोस्‌, “म तेरो उद्धार हुँ।”

4 मेरो ज्‍यानको खेदो गर्नेहरू शर्ममा परून्‌, र तिनीहरू अपमानित होऊन्‌। मेरो विरुद्धमा उपाय रच्‍नेहरू लखेटिऊन्‌ र अलमल्‍ल परून्‌।

5 तिनीहरू बतासले उड़ाएको भुसजस्‍ता होऊन्‌, र परमप्रभुका स्‍वर्गदूतले तिनीहरूलाई लखेटून्‌।

6 तिनीहरूको बाटो अँध्‍यारो र चिप्‍लो होस्‌, र परमप्रभुका दूतले तिनीहरूलाई लखेटी नै रहून्‌।

7 किनकि विनाकारण तिनीहरूले मलाई फसाउनलाई जाल बिछाए, र विनाकारण मेरो प्राण लिन तिनीहरूले खाड़ल खने।

8 अकस्‍मात्‌ तिनीहरूमाथि सर्वनाश आइपरोस्‌, तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफै परून्‌, तिनीहरू आफै त्‍यस खाड़लमा परेर नष्‍ट होऊन्‌।

9 तब मेरो प्राणचाहिँ परमप्रभुमा हर्षित हुनेछ, र उहाँबाटै भएको उद्धारमा उल्‍लसित हुनेछ।

10 मेरा समस्‍त जीवनले भन्‍नेछ, “हे परमप्रभु, तपाईंजस्‍तो को छ र? निर्बललाई आफूभन्‍दा शक्तिशाली मानिसबाट तपाईं बचाउनुहुन्‍छ, अनि निर्बल र दरिद्रलाई अत्‍याचारीबाट उद्धार गर्नुहुन्‍छ।”

11 निर्दयी साक्षीहरू अगि आउँछन्‌। मैले जान्‍दै नजानेका कुरा तिनीहरू मलाई सोध्‍छन्‌।

12 तिनीहरू भलाइको बदला मलाई खराबी गर्छन्‌, र मेरो प्राणलाई अत्‍यन्‍त निराश छोड्‌छन्‌।

13 तापनि तिनीहरू बिरामी हुँदा, मैले भाङ्‌ग्राको वस्‍त्र लगाएँ, र उपवास बसेर आफूलाई दीन बनाएँ। जब मेरा प्रार्थना उत्तरविनै फर्केर आए,

14 मेरा मित्र र मेरो भाइको निम्‍ति शोक गरेझैँ म शोक गर्दै हिँडें। आफ्‍नी आमाको निम्‍ति विलाप गरेझैँ शिर झुकाएर मैले शोक मनाएँ।

15 तर जब मैले ठेस खाएँ, हाँसो गर्दै तिनीहरू मेरो विरुद्धमा एकत्र भए। मैले थाहै नपाएको बेलामा आक्रमणकारीहरू मेरो विरुद्धमा जम्‍मा भए। तिनीहरूले लगातार मेरो निन्‍दा गरे।

16 अधर्मीझैँ तिनीहरूले वैमनस्‍यपूर्वक निन्‍दा गरे, तिनीहरूले ममाथि दाह्रा किटे।

17 हे परमप्रभु, कहिलेसम्‍म तपाईं हेरिरहनुहुन्‍छ? तिनीहरूले ममाथि ल्‍याएको आक्रमणबाट, ती सिंहहरूबाट मेरो ज्‍यानलाई छुटाउनुहोस्‌।

18 ठूलो समुदायमा म तपाईंमा धन्‍यवाद चढ़ाउनेछु, विशाल जन-समूहमा म तपाईंको प्रशंसा गर्नेछु।

19 अकारण मेरा शत्रुहरू मेरो विरुद्धमा रमाउन नपाऊन्‌, अकारण मलाई घृणा गर्नेहरूले मेरो वैमनस्‍यपूर्वक खिसी गर्न नपाऊन्‌।

20 तिनीहरू त शान्‍तिको कुरै गर्दैनन्‌, तर देशमा शान्‍तिसँग बस्‍ने मानिसहरूका विरुद्धमा झूटा अभियोगहरू रच्‍छन्‌।

21 ठूलो मुख बाएर मेरो विरुद्धमा तिनीहरू भन्‍छन्‌, “आहा! आहा! हामीले आफ्‍नै आँखाले यो देख्‍न पायौं।”

22 हे परमप्रभु, तपाईंले यो देख्‍नुभएको छ, मौन नबस्‍नुहोस्‌। हे परमप्रभु, मबाट टाढ़ा नहुनुहोस्‌।

23 उठ्‌नुहोस्‌, र मेरो रक्षाको निम्‍ति जाग्‍नुहोस्‌। हे परमप्रभु, मेरा परमेश्‍वर, मेरो निम्‍ति लड़िदिनुहोस्‌।

24 हे मेरा परमप्रभु परमेश्‍वर, तपाईंकै धार्मिकताअनुसार मलाई निर्दोष ठहराउनुहोस्‌। ममाथि तिनीहरू रमाउन नपाऊन्‌।

25 तिनीहरूले आफ्‍ना मनमा, “आहा! हामीले चिताएका पुग्‍यो” भन्‍न नपाऊन्‌, अथवा “हामीले त्‍यसलाई निलिदियौं” भन्‍न नपाऊन्‌।

26 मेरो आपत्‌को समय मेरो हाँसो उड़ाउनेहरू सबै लाजमा परून्‌ र अस्‍तव्‍यस्‍त होऊन्‌। मभन्‍दा ठूलो हुँ भनी धाक दिनेहरू सबै लाजमा परून्‌ र अपमानित होऊन्‌।

27 म दोष-मुक्त भएको कामना राख्‍नेहरू आनन्‍दले जयजयकार गरून्‌ र हर्षित होऊन्‌। तिनीहरूले निरन्‍तर यसो भनिरहून्‌, “परमप्रभुको नाम उच्‍च होस्‌, जो आफ्‍नो दासको कल्‍याणमा प्रसन्‍न हुनुहुन्‍छ।”

28 मेरो जिब्रोले तपाईंको धार्मिकताको बखान गर्नेछ, र म तपाईंको प्रशंसा दिनभरि गर्नेछु।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy