Online Bible

- Reklamy -

भजनसंग्रह 34 - नेपाली नयाँ संशोधित संस्करण


परमेश्‍वरका भलाइको निम्‍ति स्‍तुतिगान
दाऊदको भजन

1 हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्‍तर मेरो मुखमा हुनेछ।

2 मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ। कष्‍टमा परेकाहरू यो सुनेर खुशी होऊन्‌।

3 मसँगसँगै परमप्रभुको महिमा गर, र हामी एकसाथ उहाँको नाउँ उच्‍च पारौं!

4 मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो।

5 उहाँलाई हेर्नेहरू उज्‍ज्‍वल हुन्‍छन्‌, र तिनीहरूका शिर शर्मले कहिल्‍यै झुक्‍नेछैनन्‌।

6 यस दु:खित मानिसले परमप्रभुलाई पुकारा गर्‍यो, अनि उहाँले सुन्‍नुभयो, र त्‍यसलाई त्‍यसका सबै कष्‍टबाट बचाउनुभयो।

7 परमेश्‍वरको भय मान्‍नेहरूका चारैतिर परमप्रभुका स्‍वर्गदूतले सुरक्षाको घेरा लाउँछन्‌, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्‍छ।

8 परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्‍छ। उहाँमा शरण लिने मानिस धन्‍यको हो।

9 हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको भय मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन।

10 जवान सिंहहरू कमजोर होलान्‌, र तिनीहरू भोकाउँछन्‌, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन।

11 आओ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्‍न सिकाउनेछु।

12 तिमीहरूमध्‍ये कसैले जीवनलाई प्रेम गर्छ, र धेरै असल दिनहरू देख्‍न इच्‍छा गर्दछ भने—

13 आफ्‍नो जिब्रोलाई खराबीबाट र आफ्‍ना ओठलाई झूट बोल्‍नबाट अलग्‍ग राख।

14 खराबीबाट फर्केर असल गर, शान्‍ति खोज, र त्‍यसकै पछि लाग।

15 परमप्रभुको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ, र उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ।

16 परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ, अनि उहाँले तिनीहरूको स्‍मृतिसम्‍म पनि धरतीबाट मेटाइदिनुहुनेछ।

17 जब धार्मिक जनहरूले पुकारा गर्छन्‌, तब परमप्रभुले सुन्‍नुहुन्‍छ, र तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार दिनुहुन्‍छ।

18 चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।

19 धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्‍छन्‌, तर परमप्रभुले त्‍यसलाई ती सबैबाट उद्धार दिनुहुन्‍छ।

20 परमप्रभुले त्‍यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्‍छ। तिनमा एउटै पनि भाँचिँदैन।

21 खराबीले दुष्‍टलाई नष्‍ट पार्दछ, र धार्मिक जनका विरोधीहरू जति दोषी ठहरिनेछन्‌।

22 परमप्रभुले आफ्‍ना दासहरूका जीवन उद्धार गरिदिनुहुन्‍छ, उहाँमा शरण लिने कोही पनि दोषी ठहरिनेछैन।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy