Online Bible

- Reklamy -

भजनसंग्रह 33 - नेपाली नयाँ संशोधित संस्करण


सृष्‍टिकर्ता र पालनहार परमेश्‍वरको प्रशंसा

1 हे धर्मीजन हो, परमप्रभुमा आनन्‍दसित भजन गाओ। सोझो मन भएकाहरूले उहाँको स्‍तुति गर्न सुहाउँदो छ।

2 वीणा बजाउँदै परमप्रभुको प्रशंसा गर, दश-तारे सारङ्गी बजाउँदै उहाँको स्‍तुति गाओ।

3 उहाँको निम्‍ति एउटा नयाँ भजन गाओ, जयजयकार गर्दै निपुणतासाथ वाद्यहरू बजाओ।

4 किनकि परमप्रभुको वचन ठीक र सत्‍य छ, र उहाँका सबै काम विश्‍वस्‍ततामा हुन्‍छन्‌।

5 परमप्रभुले धार्मिकता र न्‍यायलाई मन पराउनुहुन्‍छ। उहाँको अचूक कृपाले पृथ्‍वी भरिपूर्ण भएको छ।

6 परमप्रभुको वचनले आकासहरू निर्माण भए, र उहाँकै मुखको सासले त्‍यहाँका ग्रह-नक्षत्रहरू।

7 उहाँले समुद्रको पानीलाई जम्‍मा गरेर एक थुप्रो पार्नुहुन्‍छ। उहाँले गहिरा सागरहरूलाई आफ्‍ना ढुकुटीमा राख्‍नुहुन्‍छ।

8 सारा पृथ्‍वीले परमप्रभुको भय मानोस्‌ संसारका सारा निवासीहरूले उहाँको भक्ति गरून्‌।

9 किनकि उहाँका मुखको वचनले सारा सृष्‍टि रचियो, उहाँले आज्ञा गर्नुभयो, र त्‍यो स्‍थिर रह्यो।

10 परमप्रभुले जाति-जातिका योजनाहरू रद्द तुल्‍याउनुहुन्‍छ, उहाँले मानिसहरूका विचार-विमर्शलाई विफल तुल्‍याउनुहुन्‍छ।

11 तर परमप्रभुका योजनाहरू सदा स्‍थिर रहन्‍छन्‌, उहाँको हृदयका विचार पुस्‍तौँसम्‍म रहिरहन्‍छन्‌।

12 त्‍यो जाति धन्‍यको हो, जसको परमेश्‍वर परमप्रभु हुनुहुन्‍छ, ती मानिसहरू, जसलाई आफ्‍नो उत्तराधिकारको निम्‍ति उहाँले चुन्‍नुभयो।

13 परमप्रभुले स्‍वर्गबाट हेर्नुहुन्‍छ, र उहाँ सबै मानिसका सन्‍तानलाई देख्‍नुहुन्‍छ।

14 आफ्‍नो वासस्‍थानबाट उहाँ पृथ्‍वीका सारा बासिन्‍दाहरूमाथि नजर राख्‍नुहुन्‍छ—

15 उहाँ, जसले सबैका मनको रचना गर्नुहुन्‍छ, र तिनीहरू सबैका कामको विचार गर्नुहुन्‍छ।

16 कुनै राजा आफ्‍नो ठूलो सेनाद्वारा बाँच्‍न सक्‍दैन, कुनै योद्धा आफ्‍नो ठूलो सामर्थ्‍यद्वारा बाँच्‍न सक्‍दैन।

17 घोडामाथि छुटकाराको आशा राख्‍नु व्‍यर्थ छ, त्‍यसको ठूलो ताकतले पनि बचाउन सक्‍दैन।

18 तर परमप्रभुको दृष्‍टि उहाँको भय मान्‍नेहरूमाथि छ, तिनीहरूमाथि जसको आशा उहाँको अचूक कृपामाथि छ,

19 तिनीहरूका प्राणलाई मृत्‍युबाट छुटकारा दिन, र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्‍न।

20 हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौं, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्‍छ।

21 उहाँमा नै हामी हर्षित हुन्‍छौं, किनभने उहाँको पवित्र नाउँमा हामी भरोसा राख्‍छौं।

22 हे परमप्रभु, हामीले तपाईंमा आशा राखेमुताबिक तपाईंको अचूक कृपा हामीमाथि रहोस्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy