भजनसंग्रह 32 - नेपाली नयाँ संशोधित संस्करणपाप-क्षमाबाट हुने सुख दाऊदको मस्किल भन्ने भजन 1 धन्य त्यो व्यक्ति, जसका अपराध क्षमा भएको छ, र जसका पाप ढाकिएका छन्। 2 त्यो मानिस धन्य हो, जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न, र जसको मनमा छलकपट छैन। 3 जब म मौन रहें, दिनभरिको मेरो करुण-क्रन्दनले मेरा हाड़हरू खिइएर गए। 4 किनकि दिनरात तपाईंका बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्मको तापले भएझैँ सुकिसकेको थियो। सेला 5 तब मैले आफ्नो पाप तपाईंको सामुन्ने स्वीकार गरें, र मेरो अधर्म मैले लुकाइनँ। मैले भनें, “म आफ्ना अपराध परमप्रभुको सामुन्ने स्वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला 6 यसकारण हरेक भक्तजनले, जबसम्म तपाईंलाई प्राप्त गर्न सकिन्छ, तपाईंमा प्रार्थना गरोस्। अनि दु:ख-कष्ट र उर्लेको भेलले त्यसलाई छुनेछैन। 7 तपाईं मेरो आश्रय हुनुहुन्छ, तपाईंले मलाई दु:खबाट रक्षा गर्नुहुन्छ। तपाईंले मलाई उद्धारका गीतले घेर्नुहुन्छ। सेला 8 म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्नेछु। 9 समझै नभएको घोडा अथवा खच्चरजस्ता तिमी नहोऊ, जसलाई रोक्न लगाम र डोकरि चाहिन्छन्, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्। 10 दुष्टहरूले धेरै कष्ट भोग्नुपर्नेछ, तर परमप्रभुमा भरोसा राख्नेहरूलाई भने अचूक कृपाले घेर्नेछ। 11 हे धर्मात्मा हो, परमप्रभुमा आनन्दित होओ र हर्ष मनाओ, र सोझो मन भएका हो, तिमीहरू सबै आनन्दसाथ जयजयकार गर! |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society