Online Bible

- Reklamy -

भजनसंग्रह 30 - नेपाली नयाँ संशोधित संस्करण


मृत्‍युबाट छुटकारा पाएकोमा धन्‍यवादको गीत
मन्‍दिर समर्पणको निम्‍ति दाऊदको भजन

1 हे परमप्रभु, म तपाईंका महानताको स्‍तुति गाउनेछु, किनभने तपाईंले मलाई गहिराइदेखि माथि उचाल्‍नुभएको छ, र मेरा शत्रुहरूलाई मेरो हाँसो गर्न दिनुभएको छैन।

2 हे परमप्रभु मेरा परमेश्‍वर, मैले तपाईंलाई सहायताको निम्‍ति पुकारा गरें, अनि तपाईंले मलाई निको पार्नुभयो।

3 हे परमप्रभु, तपाईंले मलाई चिहानबाट निकाल्‍नुभयो, र मृत-लोकमा जानुदेखि मलाई बचाउनुभयो।

4 हे परमप्रभुका पवित्र जन हो, उहाँको निम्‍ति भजन गाओ, र उहाँको पवित्र नाउँको स्‍तुति गर।

5 किनकि उहाँको क्रोध क्षणभरिको मात्र हुन्‍छ, तर उहाँको निगाह आजन्‍म रहन्‍छ, आँसु रातभरि मात्र बग्‍छ, तर बिहान आनन्‍द आउँदछ।

6 सुरक्षित भएको समयमा, “म कहिल्‍यै डग्‍नेछैनँ” मैले भनें।

7 हे परमप्रभु, तपाईंले निगाह गर्नुहुँदा, तपाईंले मेरा पहाड़लाई सुदृढ़ पार्नुभयो। तर जब तपाईंले आफ्‍नो मुहार लुकाउनुभयो, म दु:खित भएँ।

8 हे परमप्रभु, मैले तपाईंलाई पुकारें, परमप्रभुमा नै दयाको निम्‍ति पुकारें।

9 “म मृत-लोकमा गएँ भने मेरो नाशमा के लाभ हुन्‍छ? के धूलोले तपाईंको प्रशंसा गर्छ र? के त्‍यसले तपाईंको विश्‍वसनीयताको वर्णन गर्छ र?

10 हे परमप्रभु, मेरो बिन्‍ती सुन्‍नुहोस्‌, र ममाथि अनुग्रह गर्नुहोस्‌। हे परमप्रभु, तपाईं मेरो सहायक हुनुहोस्‌।”

11 तपाईंले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईंले मेरो भाङ्‌ग्राको वस्‍त्र फुकालिदिएर आनन्‍द पहिराइदिनुभयो,

12 यस हेतुले कि मेरो मनले तपाईंको स्‍तुतिगान गरोस्‌, र चूप नलागोस्‌। हे परमप्रभु मेरा परमेश्‍वर, म सदासर्वदै, तपाईंमा धन्‍यवाद चढ़ाउनेछु।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy