Online Bible

- Reklamy -

भजनसंग्रह 28 - नेपाली नयाँ संशोधित संस्करण


प्रार्थना र धन्‍यवाद-ज्ञापन
दाऊदको भजन

1 हे परमप्रभु, मेरो चट्टान, म तपाईंलाई पुकार्दछु, मेरो पुकारा नसुनेजस्‍तो नगर्नुहोस्‌, नत्रता तपाईं मौन रहँदा, म मृत-लोकमा पर्नेहरूजस्‍तो हुनेछु।

2 जब सहायताको लागि तपाईंलाई पुकार्छु र तपाईंको महापवित्र स्‍थानतिर म आफ्‍ना हात उठाउँछु, तब मेरो अनुनयविनय सुनिदिनुहोस्‌।

3 मलाई दुष्‍टहरूसित र दुष्‍ट काम गर्नेहरूसित नलैजानुहोस्‌, जो तिनीहरूका छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्दछन्‌, तर तिनीहरूका हृदयमा भने द्वेष हुन्‍छ।

4 तिनीहरूका काम र तिनीहरूले गरेका दुष्‍ट कर्मअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्‌, तिनीहरूका हातका कर्मअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्‌, र तिनीहरूले पाउनुपर्ने दण्‍ड तिनीहरूलाई दिनुहोस्‌।

5 तिनीहरूले परमप्रभुका काम र उहाँका बाहुलीका कर्मको वास्‍ता नराखेकाले, उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ, र तिनीहरूलाई फेरि बनाउनुहुनेछैन।

6 परमप्रभुको स्‍तुति होस्‌, किनकि उहाँले कृपाको निम्‍ति मेरो प्रार्थना सुन्‍नुभएको छ।

7 परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्‍छ, उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ, र मैले सहायता पाएको छु। मेरो हृदय उल्‍लसित छ, र म भजनद्वारा उहाँलाई धन्‍यवाद चढ़ाउनेछु।

8 परमप्रभु आफ्‍ना जनहरूको शक्ति हुनुहुन्‍छ, र आफ्‍ना अभिषिक्त जनको निम्‍ति उद्धारको किल्‍ला हुनुहुन्‍छ।

9 तपाईंको प्रजालाई बचाउनुहोस्‌, र तपाईंको आफ्‍नो वंशलाई आशिष्‌ दिनुहोस्‌। तिनीहरूका गोठाला बन्‍नुहोस्‌, र तिनीहरूलाई सदाकाल सम्हाल्‍नुहोस्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy