भजनसंग्रह 27 - नेपाली नयाँ संशोधित संस्करणपरमप्रभुमा भरोसा दाऊदको भजन 1 परमप्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मान्नु? परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु? 2 जब दुष्ट मानिसहरू मेरो मासु खान मेरो विरुद्ध अगि बढ्छन्, जब शत्रु र विरोधीहरू मलाई आक्रमण गर्छन्, तिनीहरू ठक्कर खाएर जमिनमा लोट्नेछन्। 3 सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैन। मेरो विरुद्धमा लड़ाइँ चले पनि त्यस बेला म पूरा आत्मविश्वास राख्नेछु। 4 एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकूँ। 5 किनकि सङ्कष्टको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ, आफ्नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ। 6 तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ, र उहाँको पवित्र वासस्थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु। 7 हे परमप्रभु, जब म उच्च सोरले कराउँछु, तब सुन्नुहोस्, ममाथि कृपालु हुनुहोस्, र मलाई जवाफ दिनुहोस्। 8 मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु। 9 तपाईंको मुहार मबाट नलुकाउनुहोस्, क्रोधमा तपाईंको दासलाई नहटाउनुहोस्। तपाईं मेरा सहायक हुनुभएको छ। मलाई इन्कार नगर्नुहोस्, मलाई नत्याग्नुहोस्, हे मेरा उद्धारकर्ता परमेश्वर! 10 मेरा बुबा र मेरी आमाले मलाई त्यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ। 11 हे परमप्रभु, तपाईंको मार्ग मलाई सिकाउनुहोस्, र मेरा शत्रुहरूको कारण मलाई सोझो मार्गमा डोर्याउनुहोस्। 12 मेरा शत्रुहरूको इच्छामा मलाई नछोडिदिनुहोस्, किनकि झूटा गवाहहरू मेरो विरुद्धमा उठेका छन्, अनि तिनीहरू हिंसा गर्नलाई फुलिएर हिँड्छन्। 13 मलाई अझ पनि विश्वास छ कि जीवितहरूको देशमा परमप्रभुको उत्तमता म देख्नेछु। 14 परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्, र परमप्रभुकै प्रतीक्षा गर। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society