Online Bible

- Reklamy -

भजनसंग्रह 26 - नेपाली नयाँ संशोधित संस्करण


भलो मानिसको प्रार्थना
दाऊदको भजन

1 हे परमप्रभु, म निर्दोष छु भनी प्रमाणित गरिदिनुहोस्‌। किनकि मैले निर्दोष जीवन बिताएको छु। कत्ति पनि नडगमगाईकन मैले परमप्रभुमा भरोसा राखेको छु।

2 मलाई जाँच्‍नुहोस्‌, हे परमप्रभु, र मेरो पारख गर्नुहोस्‌, मेरो मन र हृदय जाँच्‍नुहोस्‌।

3 किनकि तपाईंको प्रेम जहिले पनि मेरो सामुन्‍ने छ, र तपाईंकै सत्‍यतामा म निरन्‍तर चल्‍दछु।

4 म छली मानिसहरूसँग बस्‍दिनँ, र कपटीहरूको सङ्गत पनि गर्दिनँ।

5 कुकर्मीहरूको सङ्गतिलाई म घृणा गर्दछु, र दुष्‍टहरूसँग बस्‍न इन्‍कार गर्दछु।

6 निर्दोषतामा म हात धुन्‍छु, र हे परमप्रभु, तपाईंका वेदीको परिक्रमा गर्दछु।

7 उच्‍च स्‍वरमा धन्‍यवादको गीत गाउँदै म तपाईंका सबै आश्‍चर्यकर्मको वर्णन गर्दै हिँड्‌छु।

8 हे परमप्रभु, तपाईं वास गर्नुहुने भवन, तपाईंको महिमा विराजमान हुने ठाउँलाई म प्रेम गर्दछु।

9 मेरो प्राणलाई ती पापीहरूसँग, मेरो जीवनलाई ती रक्तपिपासुहरूसित नलैजानुहोस्‌,

10 जसका हात दुष्‍ट योजनाले भरिएका छन्‌, र जसका दाहिने हात घूसले भरिएका छन्‌।

11 तर म त निर्दोष जीवन जिउँछु, मेरो उद्धार गर्नुहोस्‌, र ममाथि कृपालु हुनुहोस्‌।

12 मेरा गोडा सम्‍म मार्गमा खड़ा छ, ठूलो समुदायमा म परमप्रभुको प्रशंसा गर्नेछु।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy