Online Bible

- Reklamy -

भजनसंग्रह 25 - नेपाली नयाँ संशोधित संस्करण


अगुवाइ र रक्षाको निम्‍ति प्रार्थना
दाऊदको भजन

1 हे परमप्रभु, मेरो मन म तपाईंतिर उचाल्‍छु।

2 हे मेरा परमेश्‍वर, मैले तपाईंकै भरोसा गरेको छु। मलाई शर्ममा पर्न नदिनुहोस्‌, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्‌।

3 तपाईंमाथि आशा गर्ने कोही पनि कहिल्‍यै शर्माउनेछैन, तर तिनीहरू शर्ममा पारिनेछन्‌, जो क्षमा दिन नसकिने विश्‍वासघातीहरू हुन्‌।

4 हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, तपाईंको बाटोमा हिँड्‌न मलाई सिकाउनुहोस्‌।

5 तपाईंको सत्‍यतामा मलाई डोर्‍याउनुहोस्‌, र मलाई सिकाउनुहोस्‌, किनकि तपाईं नै मेरा उद्धारका परमेश्‍वर हुनुहुन्‍छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ।

6 हे परमप्रभु, तपाईंको महान्‌ करुणा र प्रेमको सम्‍झना गर्नुहोस्‌, किनकि ती प्राचीनकालदेखि नै भएका छन्‌।

7 मेरो जवानीका पापहरू र मेरा अपराधहरू स्‍मरण नगर्नुहोस्‌, हे परमप्रभु, आफ्‍नो प्रेमअनुसार मेरो सम्‍झना गर्नुहोस्‌, किनकि तपाईं असल हुनुहुन्‍छ।

8 परमप्रभु भला र सच्‍चा हुनुहुन्‍छ, यसैकारण उहाँले पापीहरूलाई आफ्‍नो बाटो सिकाउनुहुन्‍छ।

9 उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्‍याउनुहुन्‍छ, र तिनीहरूलाई आफ्‍नो मार्ग सिकाउनुहुन्‍छ।

10 उहाँको करारका शर्तहरू पालन गर्नेहरू जतिका लागि परमप्रभुका सबै मार्गहरू प्रेममय र विश्‍वासयोग्‍य हुन्‍छन्‌।

11 हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो अपराध क्षमा गर्नुहोस्‌, यद्यपि मेरो अपराध अति ठूलो छ।

12 परमप्रभुको डर मान्‍ने मानिस को छ? त्‍यो हिँड्‌नुपर्ने बाटो, परमप्रभुले त्‍यसलाई सिकाउनुहुनेछ।

13 त्‍यसले सुख-चैनमा आफ्‍नो दिन बिताउनेछ, र त्‍यसका सन्‍तानले देशमा अधिकार जमाउनेछन्‌।

14 परमप्रभुको भय मान्‍नेहरूसँग उहाँको घनिष्‍ठता हुन्‍छ, र उहाँले तिनीहरूलाई आफ्‍नो करार बताइदिनुहुन्‍छ।

15 मेरा आँखा सधैँ परमप्रभुतिर नै छन्‌, किनकि उहाँले मात्र मेरा खुट्टाहरू पासोबाट छुटाइदिनुहुनेछ।

16 मतिर फर्कनुहोस्‌, र ममाथि कृपालु बन्‍नुहोस्‌, किनकि म एकलो र कष्‍टित छु।

17 मेरो हृदयका दु:खहरू बढ़ेका छन्‌, मलाई मेरा कष्‍टहरूबाट तपाईंले नै मुक्त गरिदिनुहोस्‌।

18 मेरा दु:ख र पीडाहरू विचार गरिदिनुहोस्‌, र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्‌।

19 हेर्नुहोस्‌, मेरा शत्रुहरू कति धेरै छन्‌, तिनीहरूले मलाई कति भयानक रूपले घृणा गर्छन्‌।

20 मेरो प्राणको रक्षा गर्नुहोस्‌, र मलाई छुटकारा दिनुहोस्‌, मैले शर्माउनु नपरोस्‌, किनकि म तपाईंको शरणमा परेको छु।

21 ईमानदारी र सोझोपनले मलाई सुरक्षित राखून्‌, किनकि म तपाईंमा आशा राख्‍तछु।

22 इस्राएललाई त्‍यसका सबै दु:खबाट मुक्त गरिदिनुहोस्‌, हे परमेश्‍वर।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy