भजनसंग्रह 24 - नेपाली नयाँ संशोधित संस्करणमहिमाका राजा दाऊदको भजन 1 पृथ्वी र त्यसमा भएका जो-जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरू सबै उहाँकै हुन्। 2 किनभने उहाँले त्यसलाई समुद्रमाथि बसाल्नुभएको छ, र पानीहरूको गहिराइमा त्यसलाई स्थापित गर्नुभएको छ। 3 परमप्रभुको डाँड़ामा को उक्लन सक्ला? र उहाँको पवित्रस्थानमा को खड़ा हुन सक्छ? 4 त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन। 5 त्यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ, र त्यसको उद्धारकर्ता परमेश्वरले त्यसलाई निर्दोष ठहराउनुहुनेछ। 6 उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्, जसले, हे याकूबका परमेश्वर, तपाईंको दर्शन खोज्दछन्। सेला 7 हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्च होओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्। 8 महिमाका महाराजा को हुनुहुन्छ? परमप्रभु, जो सामर्थी र प्रतापी हुनुहुन्छ, परमप्रभु, जो लड़ाइँमा पराक्रमी हुनुहुन्छ। 9 हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, शिर उठाओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्! 10 महिमाका यी महाराजाचाहिँ को हुनुहुन्छ? सर्वशक्तिमान् परमप्रभु, उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society