भजनसंग्रह 23 - नेपाली नयाँ संशोधित संस्करणपरमप्रभु मेरा गोठाला दाऊदको भजन 1 परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। 2 उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। 3 उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। 4 मृत्युको अन्धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्त्वना दिन्छन्। 5 मेरा शत्रुहरूका सामुन्ने तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरो भरिएर पोखिन्छ। 6 निश्चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society