भजनसंग्रह 22 - नेपाली नयाँ संशोधित संस्करणसङ्कष्टमा पुकार र प्रशंसाको भजन सङ्गीत-निर्देशकको निम्ति “प्रभातको हरिणी” को रागअनुसार दाऊदको भजन 1 हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ? मलाई बचाउनबाट तपाईं किन यति टाढ़ा हुनुहुन्छ? अनि मेरो करुण-क्रन्दनका शब्दहरूबाट त्यति टाढ़ा? 2 हे मेरा परमेश्वर, दिनको समयमा म पुकार्छु, तर तपाईं उत्तर दिनुहुन्न। राती पनि म शान्त बन्दिनँ। 3 तापनि तपाईं परमपवित्र, सिंहासनमा विराजमान हुनुहुन्छ, तपाईं इस्राएलका प्रशंसा हुनुहुन्छ। 4 हाम्रा पुर्खाले तपाईंमा नै भरोसा राखेका थिए, तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो। 5 तपाईंमा तिनीहरूले पुकार गरे, र बाँचे। तिनीहरूले तपाईंमा भरोसा राखे, र निराश भएनन्। 6 तर म त एउटा कीरा मात्र हुँ, मानिस होइनँ, मानिसहरूद्वारा उपेक्षित, र लोकद्वारा तुच्छ गनिएको। 7 मलाई देख्नेहरू जति सबैले मेरो ठट्टा गर्छन्। तिनीहरू ओठ लेब्र्याउँछन्, र मुन्टो बटार्दै भन्छन्, 8 “त्यसले परमप्रभुमाथि भरोसा गर्दछ, त्यसलाई उहाँले नै छुटाऊन्। उहाँले नै त्यसको उद्धार गरून्, किनकि त्यससँग उहाँ प्रसन्न हुनुहुन्छ।” 9 तैपनि तपाईंले नै मलाई गर्भबाट निकालिल्याउनुभयो। मेरी आमाको काखैबाट तपाईंले मलाई तपाईंमाथि भरोसा राख्ने बनाउनुभयो। 10 मेरो जन्मैदेखि म तपाईंमा अर्पण गरिएँ, मेरी आमाले मलाई जन्म दिएदेखि तपाईं मेरा परमेश्वर हुनुभएको छ। 11 मबाट टाढ़ा नहुनुहोस्, किनकि सङ्कष्ट नजिकै छ, र मलाई गोहार गर्ने कोही छैन। 12 धेरै साँढ़ेहरूले मलाई घेरेका छन्, बाशानका बलिया साँढ़ेहरू मेरो चारैपट्टि छन्। 13 आफ्नो शिकार फहराउने भोकाएका गर्जने सिंहहरू मेरो विरुद्ध आफ्ना मुख बाउँछन्। 14 म त पानीझैँ पोखिएको छु, र मेरा सारा हड्डीका जोर्नीहरू फुस्केका छन्। मेरो मुटु मैनजस्तै भइसकेको छ, मेरो छातीभित्र त्यो पग्लेको छ। 15 माटोको खपटोझैँ मेरो बल सुकिसकेको छ, र मेरो जिब्रो मेरो तालुमा टाँसिएको छ। तपाईंले मलाई मृत्युको धूलोमा मिलाउनुभएको छ। 16 कुकुरहरू मेरो चारैपट्टि छन्, कुकर्मीहरूको समूहले मलाई घेरेको छ, तिनीहरूले मेरा हात र मेरा खुट्टा छेड़ेका छन्। 17 मेरा सबै हाड़हरू म गन्न सक्छु, मानिसहरू द्वेषसाथ मलाई एकटक लाएर हेर्छन्। 18 तिनीहरू मेरा वस्त्रहरू आपसमा बाँड्छन्, र मेरो पोशाकको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्। 19 तर हे परमप्रभु, तपाईंचाहिँ टाढ़ा नहुनुहोस्! हे मेरा बल, छिटो मेरो गुहार गर्नुहोस्! 20 मेरो प्राणलाई तरवारबाट, र मेरो अमूल्य ज्यानलाई कुकुरहरूका पन्जाबाट उद्धार गर्नुहोस्। 21 सिंहहरूको मुखबाट मलाई छुटाउनुहोस्, र जङ्गली साँढ़ेका सीङहरूबाट मलाई बचाउनुहोस्। 22 म मेरा भाइहरूका सामुन्ने तपाईंको नाउँ घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु। 23 परमप्रभुको भय मान्नेहरू जतिले उहाँको प्रशंसा गर। याकूबका सबै सन्तान हो, उहाँको महिमा गर। हे इस्राएलका सबै सन्तान हो, उहाँको भक्ति गर। 24 किनकि उहाँले पीडितको दु:खलाई तुच्छ ठान्नुभएको छैन, न घृणाको दृष्टिले हेर्नुभएको छ। उहाँले आफ्नो मुहार त्यसबाट लुकाउनुभएको छैन, तर त्यसले सहायताको निम्ति पुकारा गर्दा उहाँले सुन्नुभएको छ। 25 ठूलो समुदायमा मेरो प्रशंसाको स्रोत तपाईं नै हुनुहुन्छ, तपाईंको डर राख्नेहरूका सामुन्ने म आफ्नो भाकल पूरा गर्नेछु। 26 गरीबहरू खाएर तृप्त हुनेछन्, परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्। तिमीहरूका हृदय सदा जीवित रहून्! 27 समस्त पृथ्वीका सबै जातिहरूले स्मरण गर्नेछन्, र परमप्रभुतिर फर्कनेछन्। जाति-जातिका सबै परिवारहरूले उहाँलाई दण्डवत् गर्नेछन्। 28 किनभने राज्य त परमप्रभुकै हो, र सबै जातिहरूमाथि उहाँले नै शासन गर्नुहुन्छ। 29 पृथ्वीका सबै धनीहरूले भोज गर्नेछन्, आराधना गर्नेछन्, जस-जसले आफ्नो प्राण बचाउन सक्दैनन्, जो धूलोमा मिलिजानेछन्, ती सबै उहाँको सामुन्ने घोप्टो पर्नेछन्। 30 भावी सन्तानले उहाँको सेवा गर्नेछन्, भावी पुस्तालाई परमप्रभुको बारेमा बताइनेछ। 31 अहिलेसम्म जन्म नभएको एउटा जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्— किनकि उहाँले यो गर्नुभएको छ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society