Online Bible

- Reklamy -

भजनसंग्रह 21 - नेपाली नयाँ संशोधित संस्करण


विजयको निम्‍ति धन्‍यवाद
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन

1 हे परमप्रभु, तपाईंकै सामर्थ्‍यमा राजा आनन्‍दित छन्‌, र तपाईंले दिनुभएका विजयहरूमा उनी अति उल्‍लसित छन्‌।

2 तपाईंले उनको मनोरथ पूर्ण गरिदिनुभएको छ, र उनका मुखको बिन्‍ती तपाईंले इन्‍कार गर्नुभएको छैन। सेला

3 तपाईंले उत्तम आशिष्‌ लिएर उनलाई स्‍वागत गर्नुभयो। तपाईंले निखुर सुनको शिरपेच उनको शिरमा लगाइदिनुभयो।

4 उनले तपाईंसँग जीवन मागे, अनि तपाईंले उनलाई सदासर्वदाको आयु दिनुभयो।

5 तपाईंले दिनुभएका विजयहरूद्वारा नै उनको गौरव महान्‌ छ। तपाईंले उनलाई वैभव र ऐश्‍वर्य प्रदान गर्नुभएको छ।

6 साँच्‍चै तपाईंले उनलाई अनन्‍तको आशिष्‌ दिनुहुन्‍छ, अनि आफ्‍नो उपस्‍थितिको आनन्‍दले उनलाई हर्षित बनाउनुहुन्‍छ।

7 किनभने राजाले परमप्रभुमा भरोसा राख्‍छन्‌, र सर्वोच्‍च परमेश्‍वरको अचूक करुणाको कारण उनी कहिले पनि डग्‍नेछैनन्‌।

8 तपाईंकै बाहुलीले आफ्‍ना सारा शत्रुहरूलाई खोजिनिकाल्‍नेछ, र तपाईंका शत्रुहरू जतिलाई तपाईंको दाहिने बाहुलीले पक्रनेछ।

9 तपाईं प्रकट हुने समयमा तपाईंले तिनीहरूलाई दन्‍कने भट्टीझैँ तुल्‍याउनुहुनेछ। आफ्‍नो क्रोधमा परमप्रभुले तिनीहरूलाई निल्‍नुहुनेछ, र उहाँको आगोले तिनीहरूलाई भस्‍म पार्नेछ।

10 तपाईंले तिनीहरूका सन्‍तानलाई पृथ्‍वीबाट मेटाइदिनुहुनेछ, र तिनीहरूका वंशलाई मानव-जातिको बीचबाट।

11 तिनीहरूले तपाईंको विरुद्धमा खराबी चिताए भने, र तिनीहरूले दुष्‍ट युक्ति रचे तापनि तिनीहरू सफल हुनेछैनन्‌।

12 किनभने तपाईंले तिनीहरूलाई भाग्‍न विवश पार्नुहुनेछ, जब तपाईं ताँदो चढ़ाएको धनुले तिनीहरूलाई ताक्‍नुहुनेछ।

13 हे परमप्रभु, आफ्‍नो सामर्थ्‍यमा तपाईं उच्‍च हुनुहोस्‌। हामी तपाईंका पराक्रमको भजन र स्‍तुति गाउनेछौं।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy