Online Bible

- Reklamy -

भजनसंग्रह 20 - नेपाली नयाँ संशोधित संस्करण


राजाको निम्‍ति प्रार्थना
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन

1 सङ्कष्‍टको दिनमा परमप्रभुले तपाईंलाई उत्तर देऊन्‌, याकूबका परमेश्‍वरको नाउँले तपाईंलाई सुरक्षा देऊन्‌।

2 उहाँले पवित्रस्‍थानबाट तपाईंलाई सहायता पठाऊन्‌, र सियोनबाट तपाईंलाई सहारा देऊन्‌।

3 उहाँले तपाईंका सबै बलिदानहरूको सम्‍झना राखून्‌, र तपाईंका होमबलि ग्रहण गरून्‌। सेला

4 उहाँले तपाईंको मनोरथ पूरा गरून्‌, र तपाईंका सबै योजनाहरू सफल गराऊन्‌।

5 तपाईंको विजयमा हामी आनन्‍दले जयजयकार गर्नेछौं, र हाम्रा परमेश्‍वरको नाउँमा हामी आफ्‍ना झन्‍डा उच्‍च पार्नेछौं। परमप्रभुले तपाईंका सबै बिन्‍ती पूरा गरिदेऊन्‌।

6 अब मलाई थाहा भयो, कि परमप्रभुले आफ्‍ना अभिषिक्तलाई सहायता गर्नुहुन्‍छ। उहाँले आफ्‍नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्‍नो पवित्र स्‍वर्गबाट उनलाई उत्तर दिनुहुनेछ।

7 कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्‌, तर हामी त परमप्रभु, हाम्रा परमेश्‍वरकै नाउँमा भरोसा गर्छौं।

8 तिनीहरू रन्‍थनिएर जमिनमा लोट्‌नेछन्‌, तर हामीहरू त खड़ा हुनेछौं र सोझा उभिनेछौं।

9 हे परमप्रभु, राजालाई विजय प्रदान गर्नुहोस्‌। हामीले पुकार्दा हामीलाई उत्तर दिनुहोस्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy