Online Bible

- Reklamy -

भजनसंग्रह 17 - नेपाली नयाँ संशोधित संस्करण


निर्दोष मानिसको प्रार्थना
दाऊदको प्रार्थना

1 हे परमप्रभु, मेरो धार्मिक पुकार सुनिदिनुहोस्‌, निष्‍कपट मुखबाट निस्‍केको मेरो प्रार्थनामा कान लगाउनुहोस्‌।

2 मेरो निर्दोषता तपाईंबाटै ठहरिएको होस्‌, तपाईंको आँखाले सच्‍चाइ देखोस्‌।

3 यदि तपाईंले मेरो हृदय जाँच्‍नुभयो भने, र राती पनि मेरो जाँच गर्नुभयो भने, मलाई परीक्षण गर्नुभए तापनि, तपाईंले मभित्र केही पनि भेट्टाउनुहुनेछैन। मेरो मुखको बोलीले कुनै अपराध गर्नेछैनँ भनी मैले निश्‍चय गरेको छु।

4 मानिसहरूका कामको विषयमा भन्‍ने हो भने— तपाईंका मुखको वचनद्वारा मैले आफैलाई हिंसाको मार्गबाट बचाएर राखेको छु।

5 मेरा पाइलाले तपाईंका बाटामा दृढ़तासाथ टेकेका छन्‌, मेरा खुट्टा चिप्‍लेका छैनन्‌।

6 म तपाईंमा पुकार गर्दछु, हे परमेश्‍वर, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ। तपाईंको कान मतिर थाप्‍नुहोस्‌, र मेरो बिन्‍ती सुन्‍नुहोस्‌।

7 आफ्‍ना शत्रुहरूबाट तपाईंमा शरण खोज्‍नेहरूलाई आफ्‍नो दाहिने बाहुलीले बचाउनुहुने हे प्रभु, आफ्‍नो महान्‌ प्रेमको आश्‍चर्यमय कुराहरू प्रदर्शन गर्नुहोस्‌।

8 तपाईंका आँखाको नानीलाई झैँ मलाई बचाएर राख्‍नुहोस्‌। तपाईंका पखेटाको छायामुनि मलाई लुकाउनुहोस्‌—

9 ती दुष्‍टहरूबाट, जसले मलाई लुट्‌दछन्‌, मेरा ती घातक शत्रुहरूबाट, जसले मलाई घेर्दछन्‌।

10 तिनीहरू आफ्‍ना निर्दयी हृदय बन्‍द गर्दछन्‌, र तिनीहरू आफ्‍ना मुखले अहङ्कारसाथ कुरा गर्दछन्‌।

11 तिनीहरूले मलाई खेदी-खेदी भेट्टाएका छन्‌, र अब मलाई घेरा लगाउँछन्‌। मलाई जमिनमा पछार्न तिनीहरू दाउ हेर्दछन्‌।

12 तिनीहरू शिकारको निम्‍ति भोकाएको सिंहजस्‍तै भएका छन्‌, एउटा ठूलो सिंहझैँ तिनीहरू ढुकिबस्‍छन्‌।

13 हे परमप्रभु, उठ्‌नुहोस्‌, तिनीहरूको सामना गर्नुहोस्‌, तिनीहरूलाई पराजित गरिदिनुहोस्‌। आफ्‍नो तरवारद्वारा मेरो प्राणलाई दुष्‍टहरूबाट छुटाउनुहोस्‌।

14 हे परमप्रभु, तपाईंको बाहुलीद्वारा यस्‍ता मानिसहरूबाट मलाई बचाउनुहोस्‌, यी संसारका मानिसहरूबाट जसको पुरस्‍कार यस जीवनकालमा सीमित छ। तपाईंले कदर गर्नुभएकाहरूको भोक शान्‍त गर्नुहुन्‍छ। तिनीहरूका छोराहरूका लागि प्रशस्‍त छन्‌, आफ्‍ना बालबच्‍चाका लागि तिनीहरूले धन-सम्‍पत्ति थुपारेर राख्‍छन्‌।

15 अनि मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु। म बिउँझँदा तपाईंको प्रतिरूप देखेर सन्‍तुष्‍ट हुनेछु।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy