Online Bible

- Reklamy -

भजनसंग्रह 16 - नेपाली नयाँ संशोधित संस्करण


परमेश्‍वरमा भरोसाको प्रार्थना
दाऊदको मिक्‍ताम

1 मलाई रक्षा गर्नुहोस्‌, हे परमेश्‍वर, किनकि मैले तपाईंमा शरण लिएको छु।

2 मैले परमप्रभुलाई भनेको छु, “तपाईं मेरा प्रभु हुनुहुन्‍छ। तपाईंबाहेक मेरो निम्‍ति अरू कुनै राम्रो कुरा छैन।”

3 देशमा भएका पवित्र जनहरूचाहिँ तेजस्‍वी छन्‌, तिनीहरूमा नै मेरो सम्‍पूर्ण आनन्‍द छ।

4 अरू देवताको अनुसरण गर्नेहरूले आफ्‍ना दु:ख बढ़ाउँछन्‌। ती देवताहरूलाई रक्त-बलि म चढ़ाउनेछैनँ, अनि तिनीहरूका नाउँ मेरो ओठले उच्‍चारण गर्नेछैन।

5 परमप्रभु, तपाईंले मेरो हिस्‍सा र कचौरा छुट्ट्याइदिनुभएको छ। तपाईंले मेरो भाग सुरक्षित राखिदिनुभएको छ।

6 सिमानाका रेखाहरू मेरो निम्‍ति रमणीय स्‍थानमा परेका छन्‌। साँच्‍चै, मैले आनन्‍दमय पैतृक-सम्‍पत्ति पाएको छु।

7 मलाई सल्‍लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु। मेरो हृदयले राती पनि मलाई अर्ती दिन्‍छ।

8 मैले परमप्रभुलाई सधैँ मेरो सामुन्‍ने राखेको छु। उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्‍छ, यसकारण म डग्‍नेछैनँ।

9 यसकारण मेरो हृदय आनन्‍दित छ, अनि मेरो जिब्रो हर्षित हुन्‍छ। मेरो शरीर पनि सुरक्षित रहन्‍छ।

10 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।

11 तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्‍थितिद्वारा तपाईंले आनन्‍दले मलाई गद्‌गद्‌ पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्‍त आनन्‍द छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy