भजनसंग्रह 149 - नेपाली नयाँ संशोधित संस्करणपरमप्रभुका प्रशंसाको गीत 1 हल्लेलूयाह! परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ, पवित्रजनहरूको समुदायमा उहाँको प्रशंसा गर। 2 आफ्ना सृष्टिकर्तामा इस्राएल रमाओस्, सियोनका मानिसहरू आफ्ना राजामा आनन्दित होऊन्। 3 नाच्दै तिनीहरूले उहाँका नाउँको प्रशंसा गरून्, खैँजड़ी र वीणासहित तिनीहरूले उहाँको भजन गाऊन्। 4 किनकि परमप्रभु आफ्ना प्रजासँग प्रसन्न हुनुहुन्छ, नम्रहरूलाई उद्धारको मुकुट पहिराइदिनुहुन्छ। 5 पवित्रजनहरू यस्तो सम्मानमा उल्लसित होऊन्, अनि आफ्ना ओछ्यानमा पनि तिनीहरू आनन्दले गाऊन्। 6 तिनीहरूका मुखमा परमेश्वरको स्तुति रहोस्, र तिनीहरूका हातमा दुईधारे तरवार रहून्, 7 ताकि जातिहरूका विरुद्धमा तिनीहरूले प्रतिशोध, अनि मानिसहरूलाई दण्ड दिन सकून्, 8 तिनीहरूका राजालाई साङ्लाले, र तिनीहरूका भारदारहरूलाई फलामे सिक्रीले बाँध्न सकून्, 9 अनि उनीहरूका विरुद्धमा लेखिएको न्याय-दण्ड दिन सकून्। उहाँका सबै पवित्रजनहरूको यसैमा गौरव छ। हल्लेलूयाह! |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society