भजनसंग्रह 148 - नेपाली नयाँ संशोधित संस्करणसारा विश्वलाई परमेश्वरको प्रशंसा गर्ने आह्वान 1 हल्लेलूयाह! स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर। 2 हे उहाँका स्वर्गीय दूतगण, उहाँको प्रशंसा गर। हे उहाँका सारा स्वर्गीय सेना, उहाँका प्रशंसा गर। 3 हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर। हे चम्किला तारा हो, उहाँको प्रशंसा गर। 4 हे सर्वोच्च आकाश र आकाशमाथिका पानी हो, तिमीहरूले उहाँको प्रशंसा गर। 5 तिनीहरूले परमप्रभुका नाउँको प्रशंसा गरून्, किनकि उहाँले आज्ञा गर्नुभयो, र तिनको सृजना भयो। 6 उहाँले तिनलाई सदासर्वदाको निम्ति स्थापित गर्नुभयो, अनि कहिले नटल्ने विधि उहाँले दिनुभयो। 7 पृथ्वीबाट परमप्रभुको प्रशंसा गर, हे विशाल जलजन्तु हो, र सबै गहिरा सागर हो, 8 बिजुली र असिना, हिउँ र बादल, उहाँको वचन मान्ने आँधीबेहरी हो, 9 पहाड़हरू र सबै डाँड़ाहरू हो, फल फलाउने रूखहरू र सबै देवदारुहरू हो, 10 जङ्गली जनावर र सबै गाईबस्तुहरू हो, ससाना जन्तु र उड्ने पक्षीहरू हो, 11 पृथ्वीका राजाहरू र सारा जातिहरू, राजकुमारहरू र सारा शासकहरू, 12 युवकहरू र कन्याहरू, वृद्ध र बालकहरू, परमप्रभुको प्रशंसा गर। 13 यिनीहरू सबैले परमप्रभुको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र महान् छ, उहाँको महिमा पृथ्वी र आकाशभन्दा पनि उच्च छ। 14 उहाँले आफ्ना मानिसहरूका निम्ति एउटा सीङ खड़ा गर्नुभएको छ, जो उहाँका पवित्रजनहरू, उहाँको हृदयका नजिक रहने इस्राएलका प्रशंसा हुन्। हल्लेलूयाह! |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society