Online Bible

- Reklamy -

भजनसंग्रह 145 - नेपाली नयाँ संशोधित संस्करण


प्रशंसाको गीत
दाऊदको भजन

1 हे परमेश्‍वर मेरा राजा, म तपाईंको नाउँ उच्‍च पार्दछु, म तपाईंका नाउँको सदासर्वदा प्रशंसा गर्नेछु।

2 प्रतिदिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा म तपाईंका नाउँको स्‍तुति गर्नेछु,

3 परमप्रभु महान्‌ हुनुहुन्‍छ र प्रशंसाको अति योग्‍य, र उहाँको महानता अगम छ।

4 एक पुस्‍ताले अर्को पुस्‍तालाई तपाईंका कार्यको प्रशंसा गर्नेछ, तिनीहरूले तपाईंका शक्तिशाली कार्यहरूको घोषणा गर्नेछन्‌।

5 तिनीहरूले तपाईंको ऐश्‍वर्य र तेजस्‍वी वैभवको वर्णन गर्नेछन्‌, र म तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमाथि चिन्‍तन गर्नेछु।

6 मानिसहरूले तपाईंको महान्‌ कामहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्‌, र म तपाईंका महान्‌ कार्यहरूको घोषणा गर्नेछु।

7 तिनीहरूले तपाईंको प्रचुर भलाइमा आनन्‍द मनाउनेछन्‌, र तपाईंका धार्मिकताको जयजयकार गर्नेछन्‌।

8 परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्‍छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्‍छ।

9 परमप्रभु सबैमाथि भलो हुनुहुन्‍छ। र आफ्‍नो समस्‍त सृष्‍टिमाथि दया राख्‍नुहुन्‍छ।

10 तपाईंले सृष्‍टि गर्नुभएका सबै थोकले, हे परमप्रभु, तपाईंको प्रशंसा गर्नेछन्‌, र तपाईंका पवित्रजनहरूले तपाईंको स्‍तुति गर्नेछन्‌।

11 तिनीहरूले तपाईंको राज्‍यका महिमाको चर्चा गर्नेछन्‌ र तपाईंका शक्तिको बखान गर्नेछन्‌,

12 कि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू थाहा पाऊन्‌, अनि तपाईंका राज्‍यको महिमापूर्ण वैभव देखून्‌।

13 तपाईंको राज्‍य अनन्‍तको राज्‍य हो, र तपाईंका प्रभुत्‍व पुस्‍तौँ-पुस्‍तौँसम्‍म रहिरहनेछ। परमप्रभु आफ्‍ना सबै प्रतिज्ञाहरूमा विश्‍वसनीय हुनुहुन्‍छ, र आफूले रचेका सबै थोकप्रति कृपामय हुनुहुन्‍छ।

14 लड़ेकाहरू सबैलाई परमप्रभुले सहारा दिनुहुन्‍छ, दबिएकाहरू सबैलाई उठाउनुहुन्‍छ।

15 सबै प्राणीहरूका आँखाले तपाईंतिर हेर्दछन्‌, अनि तपाईंले तिनीहरूको भोजन ठीक समयमा दिनुहुन्‍छ।

16 तपाईंले आफ्‍नो मुट्ठी खोल्‍नुहुन्‍छ, र सबै प्राणीहरूका मनोरथ सन्‍तुष्‍ट पार्नुहुन्‍छ।

17 परमप्रभु आफ्‍ना सबै मार्गमा धर्मी हुनुहुन्‍छ, र आफूले रचेका सबै थोकप्रति कृपालु हुनुहुन्‍छ।

18 परमप्रभुलाई पुकारा गर्नेहरू सबैका नजिक उहाँ हुनुहुन्‍छ, सबैका नजिक ज-जसले उहाँलाई सत्‍यतामा पुकार्दछन्‌।

19 उहाँको भय मान्‍नेहरू सबैका मनोरथ उहाँले पूरा गर्नुहुन्‍छ, उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ, र तिनीहरूलाई बचाउनुहुन्‍छ।

20 उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ, तर सबै दुष्‍टहरूलाई उहाँले नाश गर्नुहुनेछ।

21 मेरो मुखले परमप्रभुको प्रशंसामा बोल्‍नेछ। प्रत्‍येक प्राणीले सदासर्वदा उहाँको पवित्र नाउँको प्रशंसा गरून्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy