भजनसंग्रह 144 - नेपाली नयाँ संशोधित संस्करणविजयको निम्ति प्रार्थना दाऊदको भजन 1 मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्छ। 2 उहाँ मेरा करुणामय परमेश्वर र मेरो किल्ला हुनुहुन्छ, मेरो गढ़ र मेरो उद्धारक। उहाँ मेरो ढाल, उहाँमा नै म शरण लिन्छु। उहाँले मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्छ। 3 हे परमप्रभु, मानिस के हो, र तपाईंले त्यसको वास्ता गर्नुहुन्छ? मानिसको छोरा को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ? 4 मानिस त एक मुट्ठी सासजस्तो मात्र छ, त्यसको आयु ढलिजाने छायाजस्तो मात्र छ। 5 हे परमप्रभु, आफ्नो स्वर्गलाई खोल्नुहोस् र तल ओर्लनुहोस्, पहाड़हरूलाई छुनुहोस्, र तीबाट धूवाँ निक्लिआओस्। 6 बिजुली चम्काउनुहोस् र मेरा शत्रुहरूलाई छिन्नभिन्न पार्नुहोस्। आफ्ना बाण छोड्नुहोस् र तिनीहरूलाई लखेटिदिनुहोस्। 7 उच्च स्थानबाट आफ्नो हात पसार्नुहोस्, र उर्लंदो बाढ़बाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस्, 8 जसका मुख झूटा कुराहरूले भरिएका छन्, र जसका दाहिने हात कपटपूर्ण छन्। 9 हे परमेश्वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु, दश-तारे सारङ्गी बजाएर म तपाईंको स्तुति गाउनेछु, 10 तपाईं जसले राजाहरूलाई विजय प्रदान गर्नुहुन्छ, जसले आफ्नो दास दाऊदलाई घातक तरवारबाट बचाउनुहुन्छ। 11 मलाई विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस् र छुटकारा दिनुहोस्। जसका मुख झूटा कुराहरूले भरिएका छन्, र जसका दाहिने हात कपटपूर्ण छन्। 12 तब हाम्रा छोराहरू तिनीहरूका युवावस्थामा मौलाउँदा रूखहरूजस्तै हुनेछन्, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्तम्भहरूजस्ता हुनेछन्। 13 हाम्रा धनसारहरू हरकिसिमका अन्नहरूले भरिनेछन्, हाम्रा भेड़ाहरू हजारौँ गुणा बढ्नेछन्, हाम्रा खेतमा ती लाखौँ हुनेछन्। 14 हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्नेछन्। हाम्रा पर्खालहरू फोरिनेछैनन्, न हामी बन्दीगृहमा जानुपर्नेछ, न त हाम्रा सड़कहरूमा रुवाइको आवाज उठ्नेछ। 15 ती मानिसहरू धन्यका हुन्, जसका जीवनमा यी आशिष्हरू छन्। यस्ता मानिसहरू धन्यका हुन्, जसका परमेश्वर परमप्रभु हुनुहुन्छ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society