Online Bible

- Reklamy -

भजनसंग्रह 141 - नेपाली नयाँ संशोधित संस्करण


पवित्रकरणको निम्‍ति प्रार्थना
दाऊदको भजन

1 हे परमप्रभु, म तपाईंलाई पुकार्दछु, तपाईं चाँड़ै आउनुहोस्‌। मैले तपाईंलाई पुकारा गर्दा मेरो आवाज सुनिदिनुहोस्‌।

2 मेरो प्रार्थना तपाईंको सामुन्‍ने सुगन्‍धित धूपजस्‍तै होस्‌, र मैले आफ्‍ना हात उचाल्‍दा, त्‍यो बेलुकीको बलिजस्‍तै ठहरिओस्‌।

3 हे परमप्रभु, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्‌, मेरा ओठको ढोकाको रखवाली गरिदिनुहोस्‌।

4 दुष्‍ट काम गर्ने मानिसहरूसित दुष्‍कर्ममा सहभागी हुन मेरो हृदय खराब कुरातिर नबरालिओस्‌, र मलाई तिनीहरूको स्‍वादिष्‍ठ भोजन खानु नपरोस्‌।

5 धर्मी मानिसले मलाई हिर्काऊन्‌, त्‍यो त मेरो निम्‍ति दया हुनेछ। तिनले मलाई हप्‍काऊन्‌, त्‍यो मेरो शिरको निम्‍ति तेल हुनेछ। मेरो शिरले त्‍यो इन्‍कार गर्नेछैन। तापनि मेरो प्रार्थना सधैँ कुकर्मीहरूका विरुद्ध हुन्‍छ।

6 तिनीहरूका शासकहरू पहाड़का भीरबाट तल खसालिनेछन्‌, र दुष्‍टहरूले मैले बोलेको वचन सत्‍य हो भन्‍ने बुझ्‍नेछन्‌।

7 तिनीहरूले भन्‍नेछन्‌, “जसरी हलो जोत्‍नेले भूमि जोतेर फुटाउँदछ, त्‍यसरी नै हाम्रा हड्डीहरू चिहानको मुखमा छरिएका छन्‌।”

8 हे परमप्रभु परमेश्‍वर, मेरा आँखा तपाईंतिरै रहन्‍छन्‌, तपाईंमा म शरण लिन्‍छु, मलाई मृत्‍युको मुखमा नफालिदिनुहोस्‌।

9 तिनीहरूले मेरो निम्‍ति थापेका धरापबाट, दुष्‍ट काम गर्नेहरूले थापेका पासोहरूबाट मलाई बचाउनुहोस्‌।

10 दुष्‍टहरू तिनीहरूका आफ्‍ना जालमा फसून्‌, जब मचाहिँ सुरक्षित निस्‍किआउँछु।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy