Online Bible

- Reklamy -

भजनसंग्रह 140 - नेपाली नयाँ संशोधित संस्करण


सुरक्षाको लागि प्रार्थना
सङ्गीत निर्देशकको निम्‍ति दाऊदको भजन

1 हे परमप्रभु, दुष्‍ट मानिसबाट मलाई छुटाउनुहोस्‌। हिंसक मानिसहरूबाट मलाई रक्षा गरिदिनुहोस्‌।

2 तिनीहरू आफ्‍ना हृदयमा दुष्‍ट युक्ति रच्‍छन्‌, अनि प्रतिदिन युद्ध मच्‍चाउँछन्‌।

3 तिनीहरूले आफ्‍नो जिब्रो सर्पको जत्तिकै विषालु बनाउँछन्‌, तिनीहरूका मुखमा भयङ्कर सर्पको विष हुन्‍छ।

4 हे परमप्रभु, दुष्‍टहरूका हातबाट मलाई बचाउनुहोस्‌, हिंसक मानिसबाट मलाई रक्षा गर्नुहोस्‌, जसले मेरा खुट्टामा ठेस लगाइदिने युक्ति रच्‍छन्‌।

5 घमण्‍डी मानिसहरूले मेरो निम्‍ति पासो थापेका छन्‌, तिनीहरूले आफ्‍नो जालका डोरी फैलाएका छन्‌, अनि मेरो मार्गमा तिनीहरूले धराप थापेका छन्‌। सेला

6 हे परमप्रभु, म तपाईंलाई भन्‍दछु, “तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ,” हे परमेश्‍वर, मेरो दयाको पुकारा सुनिदिनुहोस्‌।

7 हे परमप्रभु परमेश्‍वर, मेरा शक्तिशाली उद्धारक, लड़ाइँको दिनमा तपाईंले मेरो शिरको रक्षा गरिदिनुहुन्‍छ।

8 हे परमप्रभु, दुष्‍टहरूका इच्‍छा पूरा हुन नदिनुहोस्‌, तिनीहरूका युक्ति सफल हुन नदिनुहोस्‌, नत्रता तिनीहरू घमण्‍डी हुनेछन्‌। सेला

9 मलाई चारैतिर घेर्नेहरूका शिर, तिनीहरूका ओठले गरेका उपद्रवले ढाकिऊन्‌।

10 जलिरहेका फिलिङ्गा तिनीहरूमाथि ओइरिऊन्‌, बल्‍दो आगोमा तिनीहरू फालिऊन्‌, र उठ्‌नै नसक्‍ने गरी तिनीहरू दलदले खाल्‍डामा परून्‌।

11 निन्‍दा गर्नेहरू पृथ्‍वीमा स्‍थापित नहोऊन्‌, हिंसक मानिस चाँड़ै विनाशको शिकार बनोस्‌।

12 म जान्‍दछु, कि परमप्रभुले निर्धनहरूका पक्षमा निर्णय दिनुहुन्‍छ, र दरिद्रहरूका पक्षको रक्षा गरिदिनुहुन्‍छ।

13 निश्‍चय नै धर्मीहरूले तपाईंका नाउँको प्रशंसा गर्नेछन्‌, अनि सदाचारी तपाईंको अगि वास गर्नेछन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy